कैलालीमा पनि बिहीवारदेखि निषेधाज्ञा

कैलाली । कैलालीमा पनि बिहीवारदेखि निषेधाज्ञा जारी गरिने भएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को सिफारिसमा जिल्ला प्रशासन कार्यालय कैलालीले बैशाख १६ गतेदेखि निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।
कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले १६ गते बिहान ६ बजेदेखि २२ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी भएको जानकारी दिए । अहिलेको कोरोनाको चेन ब्रेक गर्न पनि निषेधाज्ञा गर्नुपर्ने बाध्यता देखियो । यो अवधिमा अत्यावश्यक सेवाबाहेक सबै बन्द रहनेछन्’, प्रमुख जिल्ला अधिकारी रिजालले भने। आवश्यक परे निषेधाज्ञाको अवधि थप्न सकिने उनको भनाइ छ ।
यसअघि सोमवार कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीको धनगढीमै बसेको संयुक्त बैठकले दुवै जिल्लामा रात्रिकालीन लकडाउन मात्रै गर्ने निर्णय गरेको थियो ।
कैलालीमा मात्रै सक्रिय सङ्क्रमितको सङ्ख्या तीन सयभन्दा बढी छ । कैलाली र कञ्चनपुरका अस्पतालमा कोरोनाका गम्भीर प्रकृतिका बिरामी बढेपछि आईसीयु र भेन्टिलेटरको अभाव छ ।



प्रतिक्रिया