राष्ट्र बैङ्कले लकडाउनमा दिएका सहुलियतलाई निरन्तरता दिने

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले पहिलो चरणको लकडाउनबाट प्रभावित बनेको अर्थतन्त्रको पुनरुत्थानका लागि दिएको सहुलियतलाई निरन्तरता दिने भएको छ ।
कोरोनाका कारण भएको लकडाउन र सो लकडाउनले पारेको प्रभाव कम गर्न नेपाल राष्ट्र बैङ्कले आधा दर्जनभन्दा बढी क्षेत्रमा सहुलियतको घोषणा गरेको थियो । अर्थतन्त्र विस्तारै लयमा फर्कनै लागेको बेला कोरोनाको दोस्रो लहरले पुनः धक्का दिएको छ ।
नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले दोस्रो चरणको कोरोनाले अर्थतन्त्रमा थप जटिलता थप्ने जनाएका छन् । कोरोना सङ्क्रमणको दोस्रो लहरसँगै स्वास्थ्य सङ्कट अझै गहिरिँदै जाने र अर्थतन्त्र थप प्रभावित हुने जोखिम रहेको उनको भनाइ छ ।
यही जोखिम न्यूनीकरण गर्न कोभिड–१९ को असामान्य परिस्थितिलाई सम्बोधन गर्न चालिएका गैर–परम्परागत, लचिलो एवं सहजीकरण सहितका नीतिगत व्यवस्थाहरूलाई आर्थिक तथा वित्तीय स्थायित्व र मौद्रिक उद्देश्यमाथि थप जोखिम सिर्जना नहुने गरी निरन्तरता प्रदान गरिने घोषणा राष्ट्र बैङ्कले गरेको छ ।

प्रतिक्रिया