कोरोनाबाट मुक्त भएपछि पनि जोखिम बाँकी नै रहला ?

काठमाडौं । एउटा ताजा अध्ययनमा भनिएको छ- कोरोना संक्रमणबाट मुक्त भएपछि पनि मानिसमा विभिन्न किसिमका दीर्घकालीन स्वास्थ्य समस्याका अतिरिक्त, स्वस्थ भएको ६ महिनासम्म मृत्युको जोखिम उच्च रहन्छ ।
नेपाललगायत संसारभर अहिले करोडौं मानिस कोरोना संक्रमणबाट मुक्त भई आफूलाई स्वस्थ महसुस गरिरहेका छन् । यद्यपि अहिले के भन्न थालिएको छ भने कोरानाबाट मुक्त भएकाहरुको स्वास्थको हेरचाहका लागि एउटा दीर्घकालीन संयत्रको आवश्यकता छ । त्यसो किन भनिएको हो भने वैज्ञानिकहरु यो संक्रमणको दुष्प्रभाव मानव शरीरमा निकै लामो समयसम्म कायम रहने कुरामा विश्वस्त हुन थालेका छन्।
अहिले अरु संक्रामक बिरामीलाई जित्नेहरुको भिडमा कोरोनाबाट मुक्तहरुको संख्या पनि ठूलै भइसकेको छ । विभिन्न देशका सरकारहरुले विज्ञहरुसमक्ष कोभिड-१९ बाट उत्पन्न हुनसक्ने दीर्घकालीक जटिलताहरुको खोजी एवं त्यसको व्यवस्थापनका लागि आग्रह पनि गरिसकेका छन् ।
कोभिड-१९ पोजिटिभ व्यक्तिलाई कहिले र कस्तो अवस्थामा अस्पतालबाट डिस्चार्ज गर्ने अथवा के-कस्तो अवस्थामा घरमै वा कस्तो अवस्थामा अस्पताल भर्ना गरेर उपचार गर्ने भन्ने विषयमा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले एउटा निर्देशिका नै तयार गरेको छ जसलाई नेपालमा पनि पालना गरिन्छ । यद्यपि डब्ल्यूएचओले अहिलेसम्म कोरोना संक्रमणबाट मुक्त भइसकेकाहरुको स्वास्थ्यमाथि निगरानी राख्ने विषयमा कुनै प्रोटोकल तयार गरिसकेको छैन ।
केही देशमा स्वस्थ भइसकेका कोरोनाका बिरामीले गर्नुपर्ने व्यायाम तथा खानुपर्ने खानाका सम्बन्धमा पनि निर्देशिका तयार गरिएको छ जुन आधारभूत रुपमा शरीरको प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउने कुरामा केन्द्रित छ।
अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताहरुले विभिन्न देशमा कोभिड-१९ बाट संक्रमित भई स्वास्थलाभ गरिसकेका बिरामीहरुसँग कुराकानी गरेका थिए । कुराकानीका समयमा उनीहरु स्वस्थ भएको चारदेखि ६ महिना बितिसकेको थियो । यो अनुसन्धानमा संलग्न कतिपय मानिस कोभिडबाट मुक्त भए पनि फोक्सो तथा डर-छटपटी आदिको समस्यासँग जुधिरहेका थिए ।
‘नेचर’ जर्नलमा हालै प्रकाशित एक अध्ययनमा भनिएको छ- कोभिड-१९ को लक्षण महिनौंसम्म कायम रहन सक्छ भने स्वस्थ भइसकेका बिरामीमा संक्रमणको ६ महिना पछिसम्म मृत्युको जेखिम ५९ प्रतिशतसम्म रहन्छ ।
क्लिनिकल इपिडिमियोलोजी सेन्टर, रिसर्च एन्ड डेभलपमेन्ट सर्भिस, बीए सेन्ट लुइस हेल्थ केयर सिस्टम, सेनट लुइस, एमओ, यूएसएको जियाद अल-अली, यान शी तथा बेनजामिन बोवेका तर्फबाट गरिएको अध्ययनमा संयुक्त राज्य अमेरिकाका ८७ हजार कोभिड रोगीको तथ्यांक केलाइएको थियो ।
कोभिड-१९ को दीर्घकालीक प्रभावकै कारण मानिसहरुको मृत्यु भएको स्पष्ट प्रमाण फेला नपरे पनि यो शोधले बितेका ६ महिनामा कोभिडका एक हजार पूर्वबिरामीमध्ये आठजनाको मृत्यु भएको कुरा पत्ता लगायो ।
अध्ययनमा संलग्न वरिष्ठ लेखक, एमडी जियाद अल-अलीले भनेका छन्- ‘हामी यो भाइरल संक्रमणका कारण तत्काल मृत्युवरण गर्नेहरुको मात्र हिसाब गरिरहेका छौं । जुन बाहिर देखिने कुरा मात्र हो । कोरोनाको दीर्घकालीन असरका रुपमा खडा हुने आगामी समस्या सारा संसारका सबैभन्दा ठूलो स्वास्थ्य संकट साबित हुन सक्छ ।’
अली भन्छन्- ‘कोभिड-१९ को दीर्घकालीन बोझ संसारका लागि निकै भारी साबित हुने पक्का छ । यो रोगको प्रभाव कैयौं वर्षसम्म अथवा दशकौंसम्म देखा परिरहन सक्छ । अहिले संक्रमण मुक्त भइसकेका हजारौं मानिस थकान, छटपटी-विचलनदेखि लिएर फोक्सोको संक्रमणसम्मका समस्याले सताइन थालेका छन् । यो समस्या भोलिको सबैभन्दा ठूलो स्वास्थ्य संकटका रुपमा पनि अगाडि आउन सक्छ ।’

प्रतिक्रिया