बुधबार, वैशाख १७, २०८२

अमेरिकी संसदमा बाइडेनको पहिलो सम्बोधन : कोभिड नियन्त्रणमा विश्वलाई नेतृत्व दिन तयार छौं

नेपालखोज २०७८ वैशाख १६ गते १६:१३

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले संयुक्तराज्य अमेरिकाले फेरि सही मार्ग समातेको बताएका छन् ।

अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछि अमेरिकी संसदको संयुक्त सत्रलाई बुधबार पहिलो पटक सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् । कोभिड प्रभावित अमेरिकी मध्यमवर्गको उत्थान एवं ‘बिर्सिएका’ अमेरिकी श्रमिक वर्गलाई पुनर्जीवन दिन खर्बौं डलरको आर्थिक प्याकेज आवश्यक रहेको उनको भनाइ थियो ।

कोभिड नियन्त्रणमा सफलता

कोभिड–१९ विरुद्धको व्यापक खोप अभियानको सफलताको प्रशंसा गर्दै कङ्ग्रेसमा राष्ट्रपति बाइडेनले अमेरिकी जनतामा आत्मविश्वास जागृत भएको बताए । उनले भने ‘अमेरिका अब पाइला चाल्न पूरै तम्तयार अवस्थामा पुगेको छ, हामी काम गर्न समर्थ भएका छौं, सपना देख्न थालेका छौं, अन्वेषण र खोजमा अघि बढिसकेका छौं, र विश्वलाई नै नेतृत्व दिन तयार भइसकेका छौं ।’

राष्ट्रपतिको कार्यभार सम्हालेको १०० दिन पुगेको पूर्वसन्ध्यामा बाइडेनले अमेरिकी इतिहासमै खोप अभियानमा सफल उपलब्धि हासिल भएको उल्लेख गरे । अहिलको राष्ट्रिय प्रयत्नलाई देशको अर्थतन्त्र पुनर्निर्माण गर्ने तथा दोस्रो विश्वयुद्ध देखिकै सर्वाधिक ठूलो विषय बनेको रोजगारी योजनामा रहेका विमतिलाई हटाएर समानतामा ध्यान केन्द्रित गर्नुपर्ने बेला आएको उनले बताए ।

चीनसँगको सम्बन्धबारे यस्तो भने

चीनका सम्बन्धमा राष्ट्रपति बाइडेनले बेइजिङले सर्वोच्चता वा एकाधीकार खोजिरहेको भए पनि आफूहरुले चीनसँग प्रतिस्पर्धा गर्न चाहेको तर कुनै किसिमको द्वन्द्व नचाहेको स्पष्ट पारे ।

करवृद्धिबारे पनि योजना सुनाए

अमेरिकी राष्ट्रपतिहरुले सामान्यतया कङ्ग्रेसमा सम्बोधन गर्दा करको दर वृद्धिलाई गुपचुप राख्ने गर्दछन् । तर राष्ट्रपति बाइडेनले अमेरिकी ठूला धनाढ्यमाथि करवृद्धि गर्ने र त्यहाँबाट प्राप्त हुने रकम आफ्ना प्रस्ताव कार्यान्वयनका लागि खर्च गर्ने योजना अघि सारे । उनले १८ खर्ब डलरको अमेरिकन फेमिलिज प्लान नामको योजना सुुनाएका छन् ।

निकै विभाजित कङ्ग्रेसको अनुमोदन आवश्यक पर्ने यस योजनाले खासगरी बालशिक्षा, बालबालिकाको स्याहार र उच्च शिक्षामा जोड दिनेछ ।

प्रतिक्रिया