‘सदनमा जाने तयारी गर्दै गर्दा अचानक बेहोस भए’

काठमाडौं । गण्डकी प्रदेशका प्रदेश सभा सदस्य खिमविक्रम शाहीले आफू सदनमा जाने तयारी गर्दै गर्दा अचानक बेहोस भएको स्पष्टीकरण दिएका छन्। बिहीवार विज्ञप्तिमार्फत उनले सदनमा जाने तयारी गर्दै गर्दा अचानक बिरामी भएको र भाइलाई सम्पर्क गरेर अस्पताल लैजाने क्रममा आफू बेहोस भएको बताए ।
उनले विज्ञप्तिमार्फत भनेका छन्, ‘म सदनमा जाने भनी तयारी अवस्थामा रहेको बेला अचानक बिरामी भइ मेरो आफ्नै भाइलाई सम्पर्क गरेर आफ्नो स्वास्थ्य उपचारका लागि अस्पताल लैजाने क्रममा म बेहोस भएछु । म अहिले उपचाररत छु । अहिले स्वास्थ्यमा क्रमिक सुधार भएको महसुस गरिरहेको छु । म थप स्वस्थ भएपछि मेरो बारेमा उठेका कैयौँ प्रश्नको बारेमा स्पष्ट गर्ने नै छु ।’
त्यस्तै उनले समाचार र सामाजिक सञ्जालमा प्रचार भएका विषयवस्तुलाई आधार बनाएर धारणा नबनाइदिन पनि आग्रह गरेका छन् । पार्टीको निर्णय र संसदीय दलको बैठकमा गरिएको निर्णयमा आफ्नो पनि सहभागिता रहेकोले पार्टीको निर्णयप्रति आफू प्रतिवद्ध रहेकोसमेत उनले बताएका छन् ।


प्रतिक्रिया