बिहीबार, वैशाख १३, २०८१

‘सत्ता हत्याएपछि अन्धाधुन्ध कमिसनको खेल चल्छ’

नेपालखोज २०७८ वैशाख १७ गते १३:१६

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारको नेतृत्व गर्ने पार्टी र आफ्नै पार्टीको सभापति मिलेर लोकतान्त्रिक व्यवस्था समाप्त पार्ने खेलमा लागेको आरोप लगाएका छन् । सर्वोच्च अदालतको आदेशले प्रतिनिधिसभा पुनस्थापना भएपछि प्रतिनिधिसभा विघटन गर्ने सरकारका प्रधानमन्त्रीलाई राजीनामा गराउने वा अविश्वासको प्रस्ताव दर्ता गराउनुपर्ने कर्तव्यबाट विपक्षी दल नेपाली कांग्रेस च्युत भएको टिप्पणी उनले गरे । उनले पार्टीले संस्थागत रुपमा आफ्नो नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरिसक्दा पनि नेतृत्वले त्यस तर्फ पहल कदमी नगरेको भन्दै राज्यसत्ता र पार्टी सत्ता दुवैको नेतृत्वमा रहेकाहरुबाट लोकतान्त्रिक विधि र प्रक्रियालाई उलंघन गर्ने काम गरेको टिप्पणी गरे ।

उनले सरकारको मात्रै नभई पार्टी नेतृत्वको पनि चर्को आलोचना गरेका छन् । उनले पार्टी सभापति शेरबहादुर देउवा पार्टीको अस्तित्व नै समाप्त पार्ने दिशामा अग्रसर भएको आरोप लगाएका छन् । उनले गण्डकी प्रदेश संसदमा सत्तारुढ दलले गरेको घृणित कामको विरोध गर्न सबैलाई अपिल पनि गरेका छन् । प्रस्तुत छ, नेता पौडेलसंग गरिएकाे कुराकानी :


कोभिड १९ को दोश्रो लहर चलेको छ । सरकारको तयारीबारे तपाईंको प्रारम्भिक टिप्पणी के छ ?
आज भन्दा ३ हप्ता अगाडि प्रधानमन्त्रीले बालुवाटारमा सर्वदलीय बैठक गर्नुभएको थियो । त्यत्तिबेला नै मैले सरकारलाई भनेको थिएँ । अब तुरुन्तै तयारीमा जुट्नुपर्यो । आईसियु, भेन्टीलेटर बढाउनुपर्यो । हस्पिटलहरुको प्रबन्ध राम्रो गराउनुपर्यो । स्वास्थ्य उपकरण, सुरक्षा उपकरणहरुको व्यवस्था तुरुन्त गरिहाल्नुपर्यो । र सिमानामा व्यवस्थित गर्ने काम सबैभन्दा पहिला ध्यान दिनुपर्यो भनेर त्यो बेलामा नै सुझाव दिएको हो । तर, त्यो सुझावलाई सरकारले गम्भीरतापूर्वक लिइएन । त्यसले गर्दा अहिले आईसियु वेड अभाव, भेन्टिलेटरको अभाव भइरहेको छ । सिमाबाट मानिसरहरु अन्धाधुन्ध प्रवेश गरेर, सिमानामा चेक नभएर गाउँमा पसेर रोग फैलाउने काम भइरहेको छ । यो राज्यको लापरबाही हो । यसले गर्दा जनता कोभिडको मारबाट त्रसित भएका छन् ।


अब पार्टी राजनीतिको कुरा गरौं, एकजनामा कोभिड १९ को संक्रमण देखिएको थियो, तर ठूलो आशा गरिएको केन्द्रीय समितिको बैठक नै स्थगित भयो । के भन्नुहुन्छ ?
यो बैठकको बारेमा मेरो उपसभापतिसंग कुरा पनि भयो । मैले त्यत्तिबेलै भनेको थिएँ, सानो सानो निहुँमा महाधिवेशनको मुखमा आएर कति महत्वपुर्ण निर्णयहरु गर्नुपर्नेछ । महाधिवेशनलाई असर पार्ने कुराहरु छन् अहिले मिटिङ किन स्थगित गर्ने भन्दाखेरि उहाँहरुले
तपाई संवेदनशील हुनुभएन भन्ने कुरा गर्नुभयो । मैले भनेँ–संवेदनशील त किन नहुनु ? तर डिस्टेन्स राखेर अन्त त काम त चलाइराखेकै छन् नि त । राज्य सरकार पनि त चलिराखेकै छ । क्याबिनेटका मिटिङहरु पनि भइराखेकै छन् । हाम्रो कार्यसमितिलाई अलिकति डिस्टेन्स मिलाएर,एक दुई जना जसलाई देखिएको छ उनीहरु बाहिर बसेर केन्द्रीय कार्यसमिति बैठक सञ्चालन गरौं भन्दा रोकिएको छ ।

मैले ३ बर्ष अगाडि नै हाम्रो पार्टीको महाधिवेशनका लागि आउन सक्ने समस्याहरुलाई बुझेर नै अहिलेदेखि नै कार्यतालिका बनाएर काम गर्न थालौं भनेकाे हाे । हामीले समयबद्ध भएर काम गरौं भनेर कार्यसमितिमा पनि महासमितिमा पनि प्रस्ताव राखेकै थिएँ । तर त्यो बेलामा त्यसलाई महत्व दिइएन । त्यसलाई पन्छाउने कुरा गरियो । आज आएर साढे ५ बर्षमा अधिवेशन हुन्छ भनेर सभापतिले त्यही बेलामा जसरी भन्नुभयो र मेरो प्रस्तावलाई तर्काउनुभयो । यत्रो संकटमा हामी पुगिसकेका छौं ।


महाधिवेशन समयमै सम्पन्न गर्ने काममा सभापति देउवाले सक्रियता नदेखाउनुको कारण के देख्नुहुन्छ ?

नेपालमा सबैभन्दा ठूलो चिन्ता भनेको लोकतन्त्रमाथि यत्रो खेलवाड भइरहेको छ । सत्ता हत्याएपछि, सत्तामा पुगेपछि, चाहे त्यो पार्टीको सत्ता होस् चाहे त्यो राज्यको सत्ता, जब सत्तामा पुग्छन् अनि त्यहाँ बसेर अन्धाधुन्ध कमिसनको खेल चल्छ । अरबौंका खेलहरु हुन्छन् । जसरी पनि आफू सत्तामा टिकिरहने, जसरी पनि सत्तालाई आफ्नो ग्रिपबाट उम्कन नदिने र लोकतान्त्रिक मूल्य, मान्यता र नैतिकता भन्ने कुरा केही पनि नराख्ने । प्रधानमन्त्री आफूले गरेको विघटन (प्रतिनिधिसभा)लाई जब अदालतले फर्काइदियो उनी एक मिनेट बस्नुहुन्थेन । उनले तुरुन्तै राजीनामा गर्नुपथ्र्यो ।

उल्टो उहाँ नकचरो भएर के भनिरहनुभएको छ भने – यो संसदको के काम ? यसले त विकृति ल्याउँछ । विकृति कसले ल्याईरहेको छ ? विकृति त अहिले सत्तामा रहेका मुठ्ठीभर केही नेताहरु, चाहे पार्टी सत्ता होस्, चाहे केन्द्रीय सत्ता होस्, सरकारको राज्यसत्ता होस्, तिनीहरुले देशमा विकृति ल्याएका छन् । चुनावमा जानुपर्छ, यो संसद काम छैन भन्ने प्रधानमन्त्री अहिले पोखरामा के गर्दैछन् ? ५ नम्बर प्रदेशमा के गरे ? लुम्बिनीमा के गर्दैछन् ? यहाँ केन्द्रमा के गर्दैछन् ? अनहोली (अप्राकृतिक गठबन्धन) एलाइन्स गर्दैछन् ।


लोकतन्त्र भनेको त मर्यादापुर्ण व्यवस्था हो । जीवनपद्धति हो । तर त्यतापट्टी त वास्तै छैन । मूल्य मान्यताप्रति वास्तै छैन । देश र जनतामा के असर पर्छ भन्ने वास्तै छैन । आम जनतामा राजनीति र व्यवस्थाप्रति नै वितृष्णा फैलाउने काम नेताहरुले गरिरहेका छन् । त्यसो भएको हुनाले हाम्रो पार्टीभित्र पनि देशको राज्यसत्ताभित्र पनि अहिले जुन खेलहरु भईरहेको छ , यसले चिन्तित बनाएको छ मलाई ।


तपाईंको बुझाई हाम्रा लोकतान्त्रिक प्रक्रिया र अभ्यासहरु अंगिकार गर्नुपर्ने कुराबाट नेपाली कांग्रेस र सरकारको नेतृत्व गरेका प्रधानमन्त्री केपी शर्मा ओली दुवै च्युत हुँदैछन् भन्ने हो ?
पार्टीभित्र परेको खटपटलाई आधार बनाएर जसरी प्रधानमन्त्रीले संसदमाथि प्रहार गर्नुभयो, संविधानमाथि जसरी प्रहार गर्नुभयो र उहाँले चालेको कदमपछि गलत सावित भयो । त्यो कदम गलत सावित भइसकेपछि नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई तुरुन्तै राजीनामा गर भन्नुपर्ने र राजीनामा नगरेपछि अविश्वासको प्रस्ताव सदनमा पेश गर्नुपर्ने थियो । संख्या जतिसुकै होस् कर्तव्य र दायित्व त पूरा हुन्थ्यो नि ? हामीचाँहि यहाँ जोखना हेरेर बस्ने ? जोखना हेरेर बस्दा पहिलो अवसर गुम्यो । जुन बेलामा एमाले र माओवादी बनाएर अदालतले फैसला गरेको थिएन ।


त्यो अवस्थामा कम्युनिष्ट पार्टी आफैंमा विभाजित भएर बहुसंख्याकले अविश्वासको प्रस्ताव अगाडि बढाएका थिए । त्यो बेला नै कांग्रेसले हाल्नुपर्ने (अविश्वासको प्रस्ताव) थियो । त्यो बेलाको अवसर गुम्यो । त्यो अवसर जानीजानी गुमाइयो । के हो भित्र सांँठगाँठ थाहा छैन । त्यसपछि अहिले पनि पछाडि आएर कांग्रेसले जसरी तदारुकताका साथ धर्म निभाउनुपथ्र्यो, त्यो धर्म निभाएको छैन । हाम्रो नेतृत्वले त्यो धर्म निभाएको छैन । त्यो क्रियाशीलता र कर्तव्यपरायणता देखाएको छैन । हाम्रो नेतृत्वमा सरकार बनाउने केपी ओलीलाई राजीनामा गर्न लगाउने अथवा हटाउने भनेर हाम्रो पार्टीमा हामीले निर्णय त गर्यौं ।


केपी ओली हटाउने भनेर पार्टीले निर्णय गर्ने, पार्टी नेतृत्वले चाहीँ आलटाल गरेर बस्ने काम भयो । त्यसो भएको हुनाले मैले के देखिराखेको छु भने– जो नेतृत्वमा छन्, राज्यको नेतृत्वमा अथवा पार्टी नेतृत्वमा उनीहरु लोकतान्त्रिक मूल्य मर्यादाप्रति संवेदनशील भएनन् । उनीहरुलाई आफ्नो सत्ताको मात्रै चिन्ता भयो । त्यसले गर्दा मुलुकमा लोकतन्त्रमाथि चिन्ता छाउन थाल्यो । यो अहिलेको चिन्ताको विषय हो ।


कोभिडका कारण महाधिवेशनका कार्यतालिकाहरु क्रमशः प्रभावित हुँदै जान्छन्, भदौमा महाधिवेशन नगर्दा बैधानिक रुपमा नै कांग्रेस रहन्न । महाधिवेशन गर्ने बाटो के हुन्छ त ?
बैधानिकता र अबैधानिकता बारे हाम्रो पार्टीको नेतृत्वले परवाह नै गर्न छोड्यो । यस्ता कुरामा चिन्ता नै भइराखेको देखिन्न । हाम्रो पार्टीको कार्यकाल सकिएको त डेढ बर्ष भइसक्यो । अहिले पनि मानिसहरुलाई चिठ्ठी काटिँदै छ । नियुक्ति बाँढिँदै छ । देशभर तँ यो विभागको, प्रतिष्ठानको,उपशाखाको सदस्य भईस् भन्दै मान्छेहरुलाई अन्धाधुन्द अबैधानिक तरिकाबाट पत्र काट्ने काम भइरहेको छ ।

अहिले पनि भ्रष्ट र विकृत तरिका अपनाएर पद दिएर आफ्नो पक्षमा जनमत बनाउने घिनलाग्दो खेलहरु अहिले पनि चलिराखेको छ । अहिले सबै क्षेत्रमा स्मुथल्ली क्रियाशील सदस्यता वितरण भयो तर जहाँ सभापति र उपसभापतिको प्रभाव छ त्यहाँ खेल भयो । पार्टी प्रवेशको नाममा मनपरि ढंगले क्रियाशील सदस्यता बाँढ्ने कब्जा गर्ने खालको नीति नियत लिइएको छ । त्यसैले यो पार्टी कसरी बचाउने भन्ने संकटमा हामी छौं ।


पार्टी सभापतिले विधिविधान मिचेर गर्न नहुने काम गर्नुभयो भनेर दोष लगाएर मात्रै त हुँदैन होला नि ? ट्रयाकमा त ल्याउनुपर्ने होला ? कसरी ल्याउन सकिन्छ ?
पार्टीलाई ट्रयाकमा ल्याउनका लागि हामीले गर्नेकुरा गरिरहेका छौं तर नेतृत्वले ठिक ढंगले अधिवेशन गराउने कुरामा इमान्दारिता नदेखाउने हो भने हामी मात्रै बाहिर कराएर अधिवेशन समयमा समयमा सम्पन्न नहुन सक्छ । अधिवेशन समयमा सम्पन्न नहुँदा हाम्रो पार्टीको बैधानिकता नै संकटमा पर्छ । पार्टी विधानमा त संकट परिसक्यो । पार्टीको विधानले त हामी सदस्य नै होइनौँ ।

शेरबहादुरजी सभापति पनि होइन । म केन्द्रीय सदस्य पनि होइन । अब देशको संविधान अनुसार भदौ भन्दा उता हामी कोही पनि सदस्य रहदैनौं । कोही पनि पदाधिकारी रहदैनौं । हाम्रो कुनै पनि दाबी पार्टीमा हुँदैन । त्यसकारण अराजक स्थिति जन्मन्छ । त्यस्तो अवस्था आउँछ भने अल्टरनेटिभ उपाय सोच्ने कुरा हामी बिचार गर्दैछौं । अहिले म भन्दिनँ कुन चाँही अल्टनेटिभ हुन्छ भनेर तर पार्टीको अस्तित्व त बचाउनुपर्यो । नेपाली कांग्रेस त यो देशमा बच्नुपर्यो । लोकतन्त्रको पहरेदार नेपाली कांग्रेसलाई लोकतान्त्रिक मूल्य, मान्यता अनुसार बचाएर राख्ने कुरामा हामी प्रयत्न गर्छौं ।


तपाईंहरुकाे आफ्नाे पक्ष मात्रै छलफल गर्ने हो कि केन्द्रीय समितिमा वैकल्पिक बाटो के हुन्छ भनेर छलफल गर्नुभएको छ ?


केन्द्रीय समितिमा कुनै छलफल भएको छैन । हुन त मैले आफ्ना कुरा समितिमा थोरै प्रवेश त गराएको छु । अहिले विकल्पबारे छलफल गर्ने बेला भएको छैन । अहिले त यही अधिवेशनलाई नै सम्पन्न गर्नेमा हामी छौं ।

प्रतिक्रिया