‘महामारीमा पनि सरकार गैरजिम्मेवार बन्यो’

काठमाडौं । नेपाली कांग्रेसले महामारीका समयमा पनि सरकार गैरजिम्मेवार भएको आरोप लगाएकाे छ । कांग्रेसले कोरोना संक्रमितका लागि सरकारले अस्पतालमा बेड छैन भन्नु गैरजिम्मेवार भएको बताएको हो ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्ति जारी गर्दै महामारीको समयमा सरकारले नागरिकलाई ढाडस र सहयोग गर्नुपर्नेमा गैरजिम्मेवार बनेको आरोप लगाएका छन् ।
‘संकटका बेला हरेक नागरिकको अभिभावकत्व राज्य काे हुने तर बेडको अभाव हुन थाल्यो भनी अभावको गीत गाएर मात्रै त्यो अभिभावकत्व पूरा हुन सक्दैन,’ विज्ञप्तिमा भनिएको छ, ‘कांग्रेस परिस्थितिको गम्भीरताबमोजिम मनस्थितिको गम्भीरता राखेर कार्य गर्न सरकारलाई सजग गराउन चाहन्छ ।’
राजनीतिक दलहरु, संघ-संस्था र समाजसँग सरकारले गरेको सहयोग अपेक्षा जायज भए पनि जनताप्रति उत्तरदायी हुन नसकेको कांग्रेसले आरोप लगाएको छ । ‘फ्रन्टलाइनमा रहेर कार्य गरिरहेका स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राख्न सरकार कसरी प्रस्तुत हुने, खोपको पछिल्लो खेप आयातमा अन्तर्राष्ट्रिय पहलकदमी कति तीव्रतर छ, यी समग्र विषयमा सरकार प्रस्ट, पारदर्शी, योजनाबद्ध र दृढ़ ढंगले प्रस्तुत हुन जरुरी छ,’ प्रवक्ता शर्माद्वारा जारी विज्ञप्तिमा छ ।

प्रतिक्रिया