आइतबार, जेठ ६, २०८१

कवि एवं गीतकार दिनेश अधिकारीको एल्बमबाट-१

दिनेश अधिकारी २०७८ वैशाख १८ गते ११:३६

नेपाली सांगीतिक आकाशका एउटा उज्ज्वल नक्षत्र हुन- दिव्य खालिङ । बि.सं.२००८ साल चैत १६ गते भारतको दार्जिलिङमा जन्मेका खालिङको ११ असार २०६३ सालमा दुःखद निधन भयो ।

फेरि पनि आफ्ना सुन्दर सिर्जनाहरुका कारण नेपाली गीत/संगीतको क्षेत्रमा उनको लोकप्रियता उत्तिकै छ । स्तरीय गीत/संगीतको कुरा गर्दा दिव्य खालिङको स्थान पहिलो लहरमै सुरक्षित छ भन्नु अत्युक्ति हुँदैन ।

स्वर सम्राट नारायण गोपाल गायन-यात्राको उत्तरार्धका सहयात्री खालिङका सधै नै ‘म हाँसें तिमीलाई रुवाई’, विपना नभै बाँचिदिने मभित्रका मेरा सपना, मायाँको आधारमा सम्झौता नै हुन्छ, प्रियसीका यादहरु कोरिएको मुटु जस्ता गीतहरुले एकैसाथ उनको लेखन र संगीतको “तागत“ को परिचय दिन्छ भने म त लाली गुराँस भएँछु ( क्षेत्रप्रताप अधिकारी/नारायण गोपाल ) तिमीलाई भुल्दा म एक्लो परेछु ( कञ्चन पुडासैनी/नारायण गोपाल ) पत्थरको मुटु बोकेर (अमृत श्रेष्ट/किरण प्रधान) उड्दै आयो चिट्ठी चरी (भूपाल राई/बिमला राई) म निदलाई बोलाउँछु ( चेतन कार्की/ लासमित राई) जस्ता दर्जनौं लोकप्रिय गीतका संगीतकार दिव्य खालिङले केही चलचित्र र गीति-नाटकहरुमा समेत आफ्नो सिर्जना प्रवाहित गरेका छन्।

हामीबीच दाइभाईको सम्बन्ध थियो । अथवा यो सम्बन्धलाई ‘दाइ-साथी’ वा ‘भाइ-साथी’ को संज्ञा पनि दिन सकिन्छ । ग्रेस भाउजुसंग पनि मेरो उस्तै हिमचिम रहे-भएकोले पारिवारिक सुगन्ध पनि यो सम्बन्धमा मिसिएको छ भन्नु अतिसयोक्ति नहोला ।

बि.सं.२०४८ सालमा तत्कालीन महेन्द्र पुलिस क्लवमा प्रदर्शन भएको मैले लेखेको “ र फुल्छन् गुराँसहरु“ शीर्षकको गीतिनाटकमा प्रयुक्त १२-१५ वटा गीतहरु बाहेक उहाँको संगीतमा मेरा छ वटा गीतहरुले गुञ्जिने अवसर पाएका छन् । ती हुन् ‘तिमी जुन रहरले ममा फुल्न आयौँ ( नारायणगोपाल), माटो मात्र देश होइन मान्छेभित्र देश हुन्छ ( पवन गोले, नुपुर भट्टाचार्य र साथीहरु), कुन डालीमा बसूँ भन ! कहाँ फुलूँ भन ( ओम गुरुङ), पग्लेर जाने हिउँ म हैन( अरुण थापा) , भेटी नभेट्न सक्ने आकाशको तलाउ( किरण प्रधान ) र अँधेरोमा आँधी चल्यो कतातिर बास खोजूँ ( दिनेश सुब्बा ) ।

एकीन मिति त भन्न सकिँन। दिव्य खालिङसंगको यो तस्वीर २०४७ साल असोजमा ललितपुर, लगनखेल (थसीखेल) स्थित उहाँकै डेरा–कोठामा खिचिएको हो। मलाई लाग्छ, यो तस्वीर, तस्वीरको रुपमा मनको एउटा बिसौनी पनि हो ।

प्रतिक्रिया