सरकारलाई देउवाले भने- श्रमिकका लागि राहतको कार्ययोजना ल्याऊ

नेपालखोज २०७८ वैशाख १८ गते १३:३७


काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोभिड-१९ को संक्रमणका कारण मारमा परेका नागरिक, श्रमिक र साना व्यवसायीलाई आवश्यक राहत र सहयोगको कार्ययोजना ल्याउन सरकारसँग आग्रह गरेका छन् ।

उनले अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै कोभिड-१९ को बढ्दो संक्रमणका कारण जनताले भोगिरहेका समस्याबाट पार पाउन संक्रमण रोकथाम र उपचारको समुचित प्रबन्ध मिलाउन आग्रह गरेका हुन् ।

पूर्वप्रधानमन्त्री देउवाले लकडाउनका कारण आर्थिक, सामाजिक मारमा परेका नागरिक, श्रमिक र साना व्यवसायीको जीवन कष्टकर बन्दै गएकाले आवश्यक राहतको कार्ययोजना ल्याउन सरकारसँग आग्रह गरेका हुन् ।

उनले संक्रमणबाट मृत्यु हुनेको संख्या दिनानुदिन बढ्दै गएको र बढ्दो संक्रमणसँगै आइसियु बेड, भेन्टिलेटर र अक्सिजनको अभाव देखिन थालेको बताउँदै यस्तो परिस्थिति आउनुमा सरकार जिम्मेवार रहेको आरोप लगाएका हुन् ।

उनले कांग्रेस र मजदूर सधैँ एकार्कामा आबद्ध भएर एकार्काका अनन्य सहयोगी भएर रहिआएको जनाउँदै अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा सम्पूर्ण श्रमिकमा शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया