सामाजिक सुरक्षा योजनालाई सफलतापूर्वक लागू गर्न व्यवहारिक समाधान खोजौं- अध्यक्ष गोल्छा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले श्रम सम्बन्ध सुधारको दिशातिर बढी रहेको भएपनि श्रम सम्बन्ध दिगो र भरपर्दाे बनाउन अझै धेरै काम गर्न बांकी रहेको बताएकाछन् ।
अध्यक्ष गोल्छाले १३२औं अन्र्तराष्ट्रिय मे दिवसको अवसरमा संयूक्त ट्रेड यूनियन समन्वय केन्द्रद्वारा आज आयोजित एक कार्यक्रमलाई संबोधन गर्दे श्रम सम्बन्धलाई दिगो र भरपर्दो बनाउन लगानी प्रवद्र्धन, रोजगारी सिर्जना, उद्यमशीलता विकास, श्रम सम्बन्ध सुधार जस्ता विषयलाई मुख्य प्राथमिकतामा राखेर जानुपर्ने कुरामा जोेड दिएकाछन् ।
विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ महामारीको प्रभाव र पीडाबाट मुक्ति पाउने आशा पलाएको अवस्थामा कोरोना संक्रमणको दोस्रो लहरले थप चिन्ता थपेको भन्दै अध्यक्ष गोल्छाले अहिले हाम्रा सामु दैनिकी सञ्चालन र मानव जीवनको सुरक्षा अत्यन्त चूनौतीको रूपमा देखिएको, अर्थतन्त्र र आर्थिक गतिविधि अवरुद्ध हुने स्थिति सिर्जना भएकाले सबै क्षेत्रबाट सहकार्य हुनुपर्ने बेला आएको बताए ।
यस्तो स्थितिमा हाम्रा प्रयास र पहलहरू अर्थतन्त्र, उद्योग व्यवसाय र रोजगारीमा पर्न सक्ने प्रभावलाई न्यूनिकरण गर्न केन्द्रीत हुनु पर्नेमा जोड दिँदै अध्यक्ष गोल्छाले भने, विश्वभरीनै कोरोना संक्रमणको प्रकृति हेर्दा चाडै नियन्त्रणमा आउने संभावना छैन, यस्तो स्थितिमा जीउ ज्यानको सुरक्षाको साथै आर्थिक गतिविधिलाई चलायमान बनाई राख्नु पर्ने चुनौती र बाध्यता हामी सबैले महशुस गरेका छौ ।
संक्रमण नियन्त्रणको लागि सरकारबाट जारी गरिने निषेधाज्ञा र लकडाउन जस्ता उपायले अर्थतन्त्र र उद्योग व्यवसाय संचालनमा संकुचन आउने र यसवाट रोजगारी समेत प्रभावित भई थप संकट थपिने होकी भन्ने त्रास बढ्न गएको छ ।
प्रतिक्रिया