गंगालाल हृदयरोग केन्द्रमा अक्सिजन उत्पादन सुरु

नेपालखोज २०७८ वैशाख २० गते २:००

काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा आईतबारदेखि अक्सिजन उत्पाादन सुरु भएको छ । काठमाण्डौ महानगरपालिकाको सहयोगमा निर्माण भएको अक्सिजन प्लाण्टको आईतबार एक समारोहकाबीच उद्घाटन भएसंगै अक्सिजन उत्पादनको काम सुरु भएको हो ।

२०७६ साल माघ १५ गते महानगरपालिका र केन्द्रबीच अक्सिजन प्लाण्ट स्थापना गर्ने सम्बन्धी सम्झौता भएको थियो । सो सम्झौता लगत्तै निर्माणको काम सुरु भएको अक्सिजन प्लाण्टको आईतबार विधिवत शुभारम्भ गरिएको हो । प्लाण्टको प्रतिदिन ६ हजार ३ सय ४५ लिटर अक्सिजन उत्पादन गर्ने क्षमता रहेको छ ।

चलनमा रहेको अक्सिजन सिलिण्डरअनुसार, प्रतिदिन १ सय ३५ वटा सिलिण्डर उत्पादन हुनेछ । एउटा अक्सिजन सिलिण्डरमा ४७ लिटर अक्सिजन हुने गर्दछ । सो अक्सिजन प्लाण्ट २ करोड ७५ लाख रुपैयामा निर्माण भएको हो । कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अक्सिजन मात्रै दिन सक्दा पनि धेरै बिरामी बचाउन सकिने अवस्थामा अक्सिजन उत्पादन सुरु हुनु निकै राम्रो काम भएको बताए ।

अक्सिजन उत्पादनसंगै गंगालाल अस्पतालमा यसअघि खपथ हुने अक्सिजन अन्यत्र प्रयोग गर्न सकिने भएकाले कोरोनाका बिरामीको उपचारमा पनि ठूलो सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे । कोभिडका बिरामीलाई अक्सिजन अभाव भएको समाचारसंगै व्यक्तिले सिलिण्डर होल्ड गरेका समाचार आउन थालेको भन्दै उनले अनावश्यकरुपमा घरमा अक्सिजन सिलिण्डर होल्ड गरेर नराखिदिन अनुरोध गरे ।

अक्सिजन पर्याप्त भए पनि सिलिण्डर अभाव भएको कुरा आएको भन्दै उनले सिलिण्डर होल्ड गर्ने काम नगर्न सबैलाई सचेत गराए । उनले अक्सिजन मास्क प्रयोग गर्नुपर्ने अवस्था आउन नदिन मेडिकल मास्क प्रयोग गरेर घरमै सुरक्षित भएर बस्न पनि सबैलाई अपिल गरे ।

शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका कार्यकारी निर्देशक डाक्टर चन्द्रमणि अधिकारीले विगतमा पनि गंगाला हृदयरोग केन्द्रले विरामीका लागि निशुल्क अक्सिजन उपलब्ध गराएको र भविष्यमा पनि निशुल्क नै उपलब्ध गराउने बताए । उनले कोरोनाको लहर भन्दा अगाडिनै अक्सिजन प्लाण्ट स्थापना गर्ने योजनाअनुसार प्लाण्ट निर्माणको काम अघि बढेको भएपनि अहिले अक्सिजन अभावको समस्या परेका बेला अक्सिजन उत्पादन हुनु निकै राम्रो कुरा भएको बताए ।

उनले मुटु रोगीहरुलाई कोरोना लागेमा उपचारमा कठिनाई भएकाले सबै मुटुरोगीहरुलाई विशेष सर्तकता अपनाउन पनि आग्रह गरे । मुटुरोगीका सम्पुर्ण कोरोना संक्रमितलाई केन्द्रमै राखेर उपचार गर्ने सोच लिएको भएपनि भौतिक संरचनाका कारण सबैलाई राखेर उपचार गर्न सक्ने अवस्था नरहेको बताए । महानगरपालिकाकाले कान्ति बाल अस्पतालमा पनि अक्सिजन प्लाण्ट स्थापनाका लागि सहयोग गरेको छ । अस्पतालमा अहिले अक्सिजन प्लाण्ट निर्माणको काम भईरहेको छ ।

प्रतिक्रिया