बिहीबार, वैशाख ६, २०८१

किशोरीहरूमा रक्तअल्पता : चुनौती र समाधान

इन्दिरा खड्का २०७८ वैशाख २२ गते ११:१९

विश्व स्वास्थ्य संगठनका अनुसार किशोरावस्था भन्नाले उमेर–समूह १० देखि १९ वर्षसम्मका जनसङ्ख्यालाई जनाउँदछ । नेपालको कुल जनसङ्ख्याको करिब एक चौथाइ हिस्सा किशोरकिशोरीहरूले ओगटेको छ । यो उमेर–समूहका किशोरकिशोरी दुवैमा शारीरिक, मानसिक, भावनात्मक, सामाजिक, यौनिक र अन्य धेरै परिवर्तनहरू आउँछन् । जस्तै, शरीर हलक्क बढ्ने, हड्डी तथा मांशपेशीहरूको वृद्धि हुने, यौन अङ्गहरूको विकास हुने, रोगहरूसँग लड्न सक्ने क्षमताको विकास हुने, किशोरीहरूमा महिनावारी शुरुवात हुने, खेल्न, पढ्न र काम गर्न उर्जामा वृद्धि हुने, आदि परिवर्तन हुन्छन् । बाल्यावस्थापछिको महत्वपूर्ण अवधि मानिने यस अवस्थामा शरीरमा वृद्धि र विकास धेरै हुन्छ । साथै, भावी सन्ततिको उत्पादनको भूमिका निर्वाह गर्ने यो उमेर–समूहलाई स्वास्थ्य र पोषणको दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण अवधि मानिन्छ । तर, किशोरीहरू यो अवधिमा रक्तअल्पताबाट ग्रसित हुन सक्छन्, जसको कारण उनीहरूले भविष्यमा थुप्रै समस्या भोग्नुपर्ने हुन सक्छ । यस सङ्क्षिप्त आलेख मार्फत किशोरीहरूमा देखिने रक्तअल्पताले निम्त्याउन सक्ने समस्या र त्यसको समाधानका उपायबारे प्रकाश पार्ने जमर्को गरिएको छ ।

नेपाली समाज अद्यापि पुरुषप्रधान समाजका रुपमा नै रहँदै आएको छ । जातिगत रुपमा हेर्दा केही जातजातिको अवस्था भिन्न भए तापनि समग्रमा हाम्रो समाजमा अझैपनि छोरा र छोरी बिचको विभेद कायमै छ । यसको कारण जन्मदेखि किशोरावस्थासम्म र त्यसपश्चात् पनि स्वतन्त्रताका सवालमा पुरुषलाई जस्तो महिलाहरूको लागि अवस्था सहज छैन । श्रोतमा पहुँच र त्यसको उपभोगमा महिलाको अवस्था पुरुषको तुलनामा कमजोर नै छ । यस कारण परिवारभित्र खाद्यवस्तुमा हुने पहुँच र यसको विभाजनमा हुने विभेदले पनि किशोरीहरूको स्वास्थ्य र पोषण अवस्थामा प्रतिकुल असर पार्ने गरेको छ । किशोरीहरूमा महिनावारीको सुरुवात हुनुका साथै शरीरमा आउने अन्य परिवर्तनले गर्दा किशोरको तुलनामा उनीहरूलाई बढी पौष्टिक तत्वको आवश्यकता पर्दछ । यस्तो अवस्थामा किशोरीहरूलाई चाहिने महत्वपूर्ण पौष्टिक तत्वमा ‘आइरन’ पनि पर्दछ । ‘आइरन’ एक किसिमको खनिज पदार्थ हो, जुन मानव शरीरलाई अत्यन्तै आवश्यक हुन्छ । आइरनको कमीले गर्दा शरीरमा पैदा हुने स्थितिलाई रक्तअल्पता भनिन्छ । सामान्य भाषामा बुझ्नुपर्दा, रातो रक्तकोषहरूको उत्पादनमा कमी भएर वा रक्तकोषहरू नष्ट भएर उत्पन्न भएको अवस्थालाई रक्तअल्पता भनेर बुझ्न सकिन्छ । यसले गर्दा मानिसको शरीरमा ‘हेमोग्लोबिन’ तत्वको कमी हुन जान्छ, जसको कारण शरीरमा हुने अक्सिजन प्रवाहमा नकारात्मक असर पर्दछ । यसबाट शारीरिक वृद्धि र मानसिक विकास कमजोर हुने, शारीरिक क्षमता र दैनिक कार्य गर्नमा एकाग्रता नहुने, यौन तथा प्रजनन विकासमा कमी हुने गर्दछ । यसको कारण किशोरीहरूको महिनावारीमा अनिमियतता हुने, यदि गर्भ रहेमा समयअगावै शिशु जन्मिने र कम तौलको शिशु जन्मिने जस्ता परिणामहरू देखिन्छन् ।

‘जनसाङ्ख्यिकी तथा स्वास्थ्य सवेक्षण २०१६’ का अनुसार नेपालका १७ प्रतिशत किशोरीहरू १५ देखि १९ वर्षको उमेरमा आमा बनिसकेको हुने वा पहिलो बच्चा गर्भमा आएको देखाउँछ । सोही सवेक्षणअनुसार १५–१९ वर्ष उमेर–समूहका किशोरीहरूमध्ये ४४ प्रतिशतमा रक्तअल्पता रहेको देखाएको छ । यस तथ्याङ्कले नेपालका किशोरीहरूको कमजोर स्वास्थ्य अवस्थालाई चित्रण गर्दछ । विश्व स्वास्थ्य संगठनका अनुसार कुनै पनि समुदायका २० प्रतिशतभन्दा बढीमा रक्तअल्पताको समस्या भएमा उक्त समुदायमा आइरन तथा फोलिक एसिड वितरणसहित जनस्वास्थ्यका अन्य उपायहरू पनि अपनाउनुपर्ने हुन्छ । माथि उल्लेखित सर्वेक्षणले नेपालका किशोरीहरूमा रक्तअल्पता गम्भीर जनस्वास्थ्य समस्याको रूपमा विद्यमान रहेको देखाउँछ । विश्वका विभिन्न देशहरूमा किशोरीहरूमा रक्तअल्पता रोकथामको लागि धेरै प्रयास गरिएका छन् । ती प्रयासहरूका कारण किशोरीहरूमा देखिएको रक्तअल्पताको समस्या घटेको अध्ययनले देखाएको छ । नेपालमा पनि किशोरीहरूमा विद्यमान रक्तअल्पताको उच्च प्रकोप दर (४४ प्रतिशत) लाई मध्यनजर गरी विश्व स्वास्थ्य संगठनको सिफारिशमा नेपाल सरकारले किशोरीहरूलाई आइरन चक्की खुवाउने कार्यक्रम प्रारम्भ गरेकोे हो । विभिन्न अध्ययनहरूबाट आएको निष्कर्षले अङ्कित गरेको छ कि हप्तामा एकचोटी आइरन फोलिक एसिड खाने महिलाहरूमा हेमोग्लोबिन र फेरिटिनको परिमाण बढ्नुको साथै रक्तअल्पता हुने जोखिम पनि कम भएको देखिएको छ ।

सर्वप्रथम नेपालमा २०७२÷७३ मा ८ वटा जिल्लाहरूबाट विद्यालय स्वास्थ्य र पोषण कार्यक्रम अन्र्तगत किशोरीहरूलाई आइरन फोलिक एसिड वितरण कार्यक्रम सुरु भएको हो । त्यसपश्चात् क्रमिक रुपमा यो कार्यक्रम अहिले स्थानीय सरकार मार्फत देशैभरि लागु भईरहेको छ । किशोरीहरूलाई आइरन तथा फोलिक एसिड वितरण कार्यक्रम कार्य सञ्चालन निर्देशिका, २०७३ मा उल्लेख भएअनुुसार तीनवटा मुख्य उद्देश्य निर्धारण गरी नेपालमा किशोरी स्वास्थ्य र पोषणलाई मध्यनजर गरी आइरन चक्की वितरण सुरु भएको हो । यी उद्देश्यहरूमा आइरनको कमीले हुने रक्तअल्पताको नियन्त्रण मार्फत किशोरीहरूको पोषण अवस्थामा सुधार ल्याउने, किशोरीहरूमा रक्तअल्पता न्यून गर्ने र पोषण शिक्षा मार्फत किशोरीहरूमा आइरनयुक्त खानाको सेवन गर्ने व्यवहारमा सुधार ल्याउने पर्दछन् । यस कार्य सञ्चालन निर्देशिकाअनुसार सार्वजनिक तथा निजी विद्यालयहरूमा भर्ना भएका १० देखि १९ वर्ष उमेरका किशोरीहरू र सोही उमेर–समूहका विद्यालय नजाने किशोरीहरूलाई स्वास्थ्य संस्था वा महिला स्वास्थ्य स्वयंसेविका मार्फत खुवाइन्छ । साथै विद्यालय जाने किशोरीहरूद्वारा ‘दौँतरी–शिक्षा’ मार्फत विद्यालय नजाने किशोरीहरूलाई आइरन फोलिक एसिड खानुपर्ने आवश्यकताबारे परामर्श दिने गरिन्छ ।

आइरन तथा फोलिक एसिड वितरण कार्यक्रम कार्य सञ्चालन निर्देशिका, २०७३ बमोजिम आइरन फोलिक एसिड खाएपछि कसै कसैलाई सामान्य असरहरू (जस्तैः वाकवाकी लाग्ने, छाती पोल्ने, कब्जियत हुने, आदि) पर्न सक्ने सम्भावना हुन्छ । तर, ती असरहरू केहि दिनपछि आफै हराएर जान्छन् । यद्यपि किशोरीहरूलाई जटिल समस्या भएको अवस्थामा नजिकैको स्वास्थ्य संस्था वा अस्पतालमा गएर सल्लाह लिन सुझाव दिइन्छ । किशोरीहरूलाई १३ हप्ता (हप्तामा १ चक्की) आइरन चक्की खुवाएपछि १३ हप्ता नखुवाउने र फेरि १३ हप्ता खुवाउने (हप्तामा १ चक्की) र फेरि १३ हप्ता नखुवाउने गरी एक वर्षमा जम्मा २६ वटा चक्की खुवाईन्छ ।

केही किशोरीहरूमा आइरन तथा फोलिक एसिड चक्की खाएको अवस्थामा आइरनयुक्त खानेकुरा खाए पनि नखाए पनि अब केही फरक पर्दैन भन्ने धारणा रहेको देखिन्छ, जुन धारणा गलत हो । किनभने आइरन तथा फोलिक एसिड चक्की दिनुको मुख्य उद्देश्य तत्कालको आइरनको कमीलाई पूर्ती गर्नका लागि अपनाइने अल्पकालिन रणनीतिक पहल मात्र हो । आइरन तथा फोलिक एसिड चक्कीका साथै नियमित रुपमा आफ्नो गाउँघर, समुदायमा पाईने आइरनयुक्त खानेकुराहरू खानु उत्तकै जरुरी हुन्छ । हाम्रो समुदायमा धेरै प्रकारका आइरनयुक्त खानेकुराहरू उपलब्ध छन्, जसको निम्ति धेरै पैसाको लगानी गर्नु पनि पर्दैन । यी खानेकुराहरूलाई स्वादिष्ट बनाएर खान सकिन्छ । यस्ता खानेकुराहरूबाट पोषणयुतm तत्व हासिल गर्न सकिन्छ । आइरनयुक्त खानेकुराहरूमा मासु वा मासुजन्य खानेकुरालाई सर्वश्रेष्ठ मानिन्छ । त्यस्तै, शाकाहारीहरूले हरेक खानेकुरा खाँदा भिटामिन ‘सी’युक्त खानेकुरामा जोड दिनुपर्छ । जस्तै, कागती खानाले हामीले खाने कुरामा हुने आइरन शरीरमा अवशोषित हुन मदत गर्दछ । गर्भवती महिला र किशोरीहरूलाई दिइने आइरन चक्की फरक हुन् कि एकै हुन् भन्ने जिज्ञासा पनि सुन्नमा आउँछन् । केहीमा आइरन चक्की गर्भवती महिलाले खाने हो, किशोरीले हैन भन्ने बुझाई पनि छ । यस सम्बन्धमा गर्भवती महिना र किशोरीहरूलाई दिइने आइरन चक्की एउटै भए तापनि (१ चक्कीमा ६० मि.ग्रा आइरन र ४०० मा.ग्रा फोलिक एसिड) यी दुई समूहलाई दिइने चक्कीको डोज वा मात्रा (सङ्ख्या) भने फरक हुन्छ । नेपाल सरकारको नीतिअनुसार एउटा गर्भवती महिलाले गर्भावस्थामा १८० वटा आइरन चक्की सेवन गर्नुपर्छ भने किशोरीले एक वर्षमा जम्मा २६ वटा आइरन चक्की मात्र सेवन गर्नुपर्छ । धेरै किशोरीहरूमा रक्तअल्पता उच्च देखिएको हुँदा तत्कालै आइरनको कमी पूर्ति गर्नु उतिकै जरुरी छ ।

अहिलेको कोरोना महामारीको समयमा सरकारले वृद्धवृद्धा, गर्भवती महिला, केही अन्य रोगले ग्रसित, स–साना बालबालिको स्वास्थ्यलाई प्राथमिकतामा राखेको छ । यस्तो अवस्थामा किशोरीहरूको स्वास्थ्य र पोषणमा धेरै ध्यान नदिइएको हुन सक्छ । तर, यो समयमा पनि किशोरीहरूको पोषणमा बिचार गर्नु जरुरी छ, किनभने एक किशोरी रक्तअल्पताको जालोमा फस्नु भनेको एउटा अन्तर–पुस्ताको स्वास्थ्य र पोषणमा प्रतिकुल असर पर्ने संभावनाको सुरुवात हुनु हो । किशोरीमा रक्तअल्पता हुँदा उनले जन्माउने सन्तान किशोरावस्थामा आईपुग्दा पुनः कुपोषणको चक्रमा पर्ने प्रवल सम्भावना रहन्छ र उसको शरीरमा आवश्यकतानुसार आइरनको पूर्ति नभएमा यो कुपोषणको चक्र घुमिरहन्छ । कोभिड–१९ को महामारीको बेला विद्यालयहरू बन्द भएका छन् र विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमअन्तर्गत गत दिइने स्वास्थ्य र पोषणसम्बन्धी सेवाहरू पनि स्थगित गरिएका छन् । यस्तो अवस्थामा नेपालका किशोरीहरूमा ब्याप्त यस रक्तअल्पताको समस्यालाई निदान गर्न सबैले आ–आफ्नो घरमा र समुदायमा किशोरीहरूलाई आइरनयुक्त खानेकुरा उपलब्ध गराउन सघाउनु पर्दछ । हाम्रा छोरीहरूको स्वास्थ्य र पोषणमा नकारात्मक प्रभाव पर्नुको अर्थ स्वस्थ्य भावी पिँढीको निमार्णमा अवरोध खडा हुनु हो, जसले अन्ततोगत्वा मुलुकको कुशल जनशक्ति उत्पादनमा कमी ल्याउँछ र मुलुकको समग्र विकासमा नकारात्मक प्रभाव पार्दछ ।

सबै किशोरीहरूलाई आफूमा रक्तअल्पताको समस्या हुन सक्छ र त्यसका निम्ति के–कस्ता कुरामा ध्यान दिनुपर्छ भन्नेबारे जानकार गराउनु पर्दछ । रक्तअल्पताका सम्बन्धमा परिवारका अन्य सदस्यहरूलाई पनि सचेत गराउनु पर्छ । परिवार र समाज साथ भएको अवस्थामा किशोरीहरूलाई रक्तअल्पताको समस्याबाट मुक्त पार्न सहयोगी वातावरण बन्दछ । किशोरीहरूलाई रक्तअल्पताको चपेटाबाट मुक्त गर्न सम्पूर्ण नागरिक सचेत र सजग हुनु अत्यन्त जरुरी छ । किशोरीहरूलाई स्वस्थ्य, तन्दरुस्त र सचेत राख्नु हामी सबैको दायित्व पनि हो । तसर्थ, हाम्रो वरपर रहेका आइरनयुक्त खानेकुराको उपभोग गर्ने तरिकाबारे प्रचार–प्रशार गर्दा रक्तअल्पताको समस्याको दीर्घकालीन समाधान हुने कुरामा कुनै दुविधा छैन ।

लेखक इन्दिरा खड्का स्तुपा कलेजको अनुसन्धान शाखामा आवद्ध अनुसन्धानकर्ता तथा पोषण सुधार अभियानमा सङ्लग्न अभियन्ता हुन् ।

इन्दिरा खड्का

लेखक इन्दिरा खड्का स्तुपा कलेजको अनुसन्धान शाखामा आवद्ध अनुसन्धानकर्ता तथा पोषण सुधार अभियानमा सङ्लग्न अभियन्ता हुन् ।

प्रतिक्रिया