शुक्रबार, वैशाख २८, २०८१

‘काँग्रेसमा पुस्तान्तरण र रूपान्तरण’

ओम आचार्य २०८० असार १० गते १४:१३

नेपाली काँग्रेसको १४ औँ महाअधिवेशन देखि काँग्रेस भित्रका स्थापन इतर समूहले पार्टीमा पुस्तान्तरण र रूपान्तरणको बहस चलाइरहेका छन् । शेखर कोइराला समूहले यो विचारको नेतृत्व गरेका छन् । काँग्रेसमा अहिले देखिएको विचलन र पार्टीमा छविको स्खलन भएकै कारण यो समूहबाट यो विचार प्रकटीकरण भएको हो ।

पार्टीमा नीति, विधि विधानमा नचलेको, समूहगत भन्दा एकल नेतृत्व हाबी भएकै कारणबाट पनि स्थापन इतर समूहले पुस्तान्तरण र रूपान्तरणको कुरा राखेको हो । अहिले आएर प्रदेश स्तरीय पार्टी भित्रका साथीहरू पुस्तान्तरण र रूपान्तरणको चर्चा परिचर्चा गर्ने अभियान चलाउँदै छन् । अहिलेको वर्तमान अवस्थामा नेपाली काँग्रेसको इतिहास नै खराब हुने स्थितिको सृजना पार्टी भित्र कमान्ड र लगाम राख्नेहरूबाट भएको ठहर संस्थापन इतरको भनाइ रहेको छ ।

देशको मौजुदा राजनीतिक अवस्थाका साथै नेपाली काँग्रेसको वर्तमान राजनीतिक अवस्थाले पनि यो पुस्तान्तरण र रूपान्तरणको महत्त्व र अपरिहार्य देखिएको छ । अहिले प्रतिनिधि सभाको बनौट र त्यसपछि सरकार निर्माण गरिने प्रक्रिया जसरी अगाडी बढेको छ । त्यसले लोकतन्त्र र सुशासनमा प्रतिकुल असर पारेको छ ।

अहिले सरकार निर्माण र त्यसलाई जीवित बनाइ राख्न गठबन्धनको सरकार जे पनि गर्न तयार देखिएको छ । यसो गरिरहँदा चाहे संविधान संशोधन गर्नु परोस्, चाहे संविधान विपरीत होस्, चाहे न्याय र कानुन विपरीत नै किन नहोस्, त्यो हद सम्म गठबन्धनको सरकार जान तयार छ र गइरहेको पनि छ । एउटा सरकार कानुन बनाउँछ, अर्को सरकार कानुन हटाउँछ । कानुन जनहितका लागी बन्छ या दलगत राजनीतिको हिसाबले ।

अहिले देशमा यस्तै प्रवृत्ति मौलाउँदै गएको छ । अझ गठबन्धनको सरकार निर्माणले यस्तो प्रवृत्ति मौलाएको देखिन्छ । सामाजिक मर्यादा विपरीत गाउँ, समाजमा अमन चैन, शान्ति भङ्ग गरेको अवस्थामा सामान्य नागरिकमा पनि वर्तमान संविधानको मौलिक हक, अधिकार आकर्षित भएर कानुनको घेरा भित्र पर्दछ । तर सरकार र सरकारमा रहेकाहरूमाथि संविधानमा भएका धारा, उपधारा, मौलिक हकÞ अधिकारको कुनै पनि दण्डित गर्ने प्रणाली आकर्षित भएको देखिँदैन । यसबाट सुशासन भन्ने कुरा हराएको छ ।

अहिले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको र यसले देशको छवि अन्तर्राष्ट्रियकरण क्षेत्रमै धुमिल बनाएको छ । देशको प्रमुख राजनीतिक दल र सरकारमा समेत उपस्थित भएका यी दलहरू यसमा संलग्न देखिनु लज्जास्पद र भ्रष्टाचारको चरम अवस्था हो भन्नु पर्छ । यसले लोकतन्त्र र सुशासनको लागी राम्रो मानिँदैन । यस्ता प्रवृत्तिका व्यक्तिहरू देशका घाउ हुन् र समयमा नै यस्तो घाउको उपचार गरिहाल्नुपर्छ अन्यथा अरूमा पनि यस्तो प्रवृत्ति सर्न सक्छ ।

सरकारमा नेपाली काँग्रेस पनि उपस्थित रहेको अवस्था छ । नेकपा एमाले र माओवादी गठबन्धनको सरकार रहँदा पनि त्यो सरकारको नेतृत्व गर्ने प्रचण्डलाई विश्वासको मत दिएको काँग्रेसले एमाले सरकारबाट बाहिरिँदा पनि पुन विश्वासको मत दिँदै सरकारमा प्रवेश गरेको हुँदा अहिले भइरहेको बेथिति, अनियमितताको जिम्मेवारी पनि राजनीतिक नैतिकताको हिसाबले काँग्रेस पनि जबाफदेही हुनुपर्छ ।

नेपाली काँग्रेस भनेको बिपी हो भन्ने बुझ्नु पर्छ र बिपीको विचारलाई जीवन्त राख्न सके काँग्रेस जीवित रहने हो । राजनीतिमा विचार, राजनीतिक धारणा र राजनीतिक संस्कारमा जब विचलन आउँछ, त्यो राजनीतिक दल क्रमशः जनताबाट टाढा हुन्छ र त्यस्तो दलमा जनबलको स्खलन हुँदै जान्छ । अहिले काँग्रेसमा त्यही अवस्था छ । काँग्रेसमा जनबल क्रमशः हराउँदै छ । सायद, डा. शेखर कोइरालाले यही कारण ‘पाटी जनताबाट टाढा रहेको’ सन्दर्भ उठाएका हुन् ।

हो, यही जनबल हराएको अवस्थामा काँग्रेसको संस्थापन इतर समूहले उठाएको पुस्तान्तरण र रूपान्तरण झन् आवश्यक देखिएको छ र यो धारणा र विचार पार्टी स्थापित गराउनु नै काँग्रेसको सुद्धी हो ।

प्रतिक्रिया