शुक्रबार, वैशाख ७, २०८१

वेष्ट कम्युनिटी ब्युटी प्याजेन्ट अर्गनाइजरको अवार्ड एमीेलाई

नेपालखोज २०७८ वैशाख २२ गते ११:२८


काठमाडौं । नेपालमा आयोजना हुँदै आएका विभिन्न सौन्दर्य प्रतियोगिताहरु मध्ये जातियता र साँस्कृतिक परिवेश भित्रको आयोजनामा जातिय सौन्दर्य प्रतियोगिताले फरक खालको महत्व राख्ने गरेको छ ।

यसै सन्दर्भमा रौनियार समुदायको जातियता र साँस्कृतिक परिवेशमा आयोजना हुन थालेको प्रतियोगिता हो मिष्टर एण्ड मिस रौनियार । यो प्रतियोगिता आयोजना हुन थालेको दुई वर्ष मात्र भएको छ ।

यद्यपी प्रतियोगिताले रौनियार समुदायका प्रतिभावान् युवा पुस्तालाई आफ्नो व्यक्तित्व निखार्न, प्रतिभा तिखार्न र आत्मविश्वास बढाएर आफ्नो परिचयको दायरा बढाउनका लागि प्रभावकारिता देखाएसंगै प्रतियोगिताको लोकप्रियता पनि बढेको पाइन्छ ।

प्रतियोगितालाई एमी इन्टरटेन्मेन्ट प्रा.लि.को ब्यानरमा एमी रौनियारको नामले चिनिने राजन रौनियारले आयोजना गरेका हुन् । पहिलो संस्करणको प्रतियोगितामा आशिष रौनियार र प्रिया रौनियार तथा दोस्रो संस्करणमा अश्मित गुप्ता र आँचल रौनियारले विजेताको अवार्ड उचालेका थिए ।

मिष्टर एण्ड मिस रौनियार प्रतियोगिताको आयोजक एमी इन्टरटेन्म्न्टका एमी रौनियार वेष्ट कम्युनिटी ब्युटी प्याजेन्ट अर्गनाइजरको अवार्डबाट पुरस्कृत भएका छन् । जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको नेपाल म्युजिक एण्ड फेसन अवार्ड २०७७ मा एमी रौनियार उक्त अवार्डबाट पुरस्कृत भएका थिए ।

सो अवार्ड कार्यक्रम पूर्व उपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । सो अवार्डलाई एमीले पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्री र अभिनेता एवं वरिष्ठ फेसन कोरियोग्राफर प्रशान्त ताम्राकारबाट ग्रहण गरेका थिए ।

उक्त अवार्ड कार्यक्रम स्टार वन् इन्टरटेन्मेन्ट प्रा.लि.को आयोजना तथा विलक्षण क्रिएसनको व्यवस्थापनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया