सहरी विकासमन्त्रीद्वारा नेपालकै ठूलो ‘सिटीहल’को निरीक्षण

नेपालखोज २०७८ वैशाख २४ गते १८:५७

काठमाडौं । शहरी विकास मन्त्री प्रभु शाहले ललितपुरको गोदावरीमा निर्माणाधिन नेपालकै सबै भन्दा ठूलो सम्मेलन हल “सिटीहल”को निरीक्षण गरेका छन् । एक साता पछि प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन गर्ने तयारी गरिएको सो सिटीहलको शुक्रबार मन्त्री शाहले निरीक्षण गरेका हुन् ।

मन्त्री शाह मन्त्रालय र विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका कर्मचारी सहित सिटीहलको निरीक्षणमा गएका हुन् । निरीक्षणको क्रममा विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका अधिकारीहरुले भवन निर्माणको प्रगतिबारे मन्त्रीलाई ब्रिफिङ गरेका थिए ।

२०७६ कात्तिक २० गते निर्माण सम्झौता भएको सो भवन निर्माणका सम्पन्नका लागि म्याद थपसहित २०७७ चैत मसान्तसम्मको समय दिईएको थियो । गोदावरी नगरपालिका वडा नम्बर ३ स्थित ४३ रोपनी १५ आना क्षेत्रफल जग्गामा बनाईएको सो सिटी भवनको भौतिक संरचनाले मात्रै ११ रोपनी १३ आना चर्चेको छ ।

३ रोपनी क्षेत्रफलमा आन्तरिक सडक, १६ रोपनी २ आनामा बगैचा तथा हरियाली र १३ रोपनीमा पार्किङ्ग र अन्य कार्यका लागि छुट्याईएको छ । ध्वनी अवशोषित, भुकम्प प्रतिरोधी सो सिटी हलमा कम्तिमा पनि ३ हजार जना सहभागी भएर बैठक गर्न सक्ने छन् । भवनभित्र २ वटा भिभिआईपी कक्ष बनाईएको छ । आयोजना निरीक्षण पछि शहरी विकास मन्त्रालयका सचिव ई.रमेशप्रसाद सिंहले आयोजनाको ९९ प्रतिशत काम सम्पन्न भएकाले यही बैशाख ३१ गते प्रधानमन्त्रीबाट उद्घाटन गर्ने कार्यक्रम तय भएको जानकारी दिए ।

उदाउँदो सूर्यको आकृतिमा बनाईएकाले यसलाई गोदावरी सनसाईज नाम दिईएको पनि उनले जानकारी दिए । केसी समानान्तर जेभी काठमाण्डौले निर्माण ठेक्का लिएको यो आयोजनाको निर्माण सम्झौता रकम ६५ करोड ७४ लाख ८७ हजार २ सय ९१ रुपैया र भेरिएसन सहित ८१ करोड, ६ लाख ४ सय ३ रुपैया रहेको छ ।

आयोजना भित्र हुने आन्तरिक सडक निर्माण, बैगैचा तथा हरियालीको पुर्वाधार, कुर्सी, हलको साजसज्जा लगायतका कामहरु बाँकी नै छन् । सिटी हल अन्तराष्ट्रिय विमानस्थलबाट १५ दशमलब ८ किलोमिटर र चक्रपथबाट ९ दशमलब ५ किलोमिटर दुरीमा रहेको छ ।

प्रतिक्रिया