बुधबार, वैशाख १२, २०८१

कवि दिनेश अधिकारीकाे एल्बमबाट -२

नेपालखोज २०७८ वैशाख २५ गते ११:२१

प्रेमध्वज प्रधान, नेपाली गीत/संगीतको क्षेत्रमा रुचि राख्ने जो कसैले पनि अत्यन्तै श्रद्धाका साथ लिने नाम हो । यो नाम अब नाम मात्र नरहेर आफैंमा गौरवपूर्ण संस्था भइसकेको छ। १९९५ साल जेठ २८ गते जन्मनुभएका सुप्रसिद्ध गायक तथा संगीतकार प्रेमध्वज प्रधानले २००९ साल माघदेखि रेडियो नेपालमा गीत गाउन थाल्नुभएको हो र हालसम्म उहाँको स्वरमा करिब आठ सय गीत प्रवाहित भएको अनुमान छ।

उहाँले रेडियो नेपालमा स्वर परीक्षा दिंदा हिन्दी चलचित्र ‘दिल ए नादान’ को ‘ए रात सुहानी रात नही’ ब‍ोलको गीत गाउनुभएको थियो । उक्त परीक्षा ‘क’ श्रेणीमा उत्तीर्ण गर्नुभएको थियो । २०१३ सालदेखि मात्रै रेडियो नेपालमा टेपको चलन आएकाले त्यसभन्दा अघि प्रत्यक्ष प्रसारणमा गाइएका धेरै गीतहरको अभिलेख अहिले भेटिंँदैन। लोक, आधुनिक, राष्ट्रिय, बाल, धार्मिक- भावना र थुप्रै चलचित्रका गीतहरु गाउनुभएको प्रेमध्वज प्रधानको गायनको मूलधारचाहिँ शृंगार रसका गीत नै हुन् भन्ने मेरो धारणा छ।

प्रेमध्वज प्रधान गायक मात्र नभएर उत्तिकै रुचाइएका संगीतकार पनि हुन् भन्ने तथ्य जगजाहेर छ । प्रेमध्वज प्रधानको पर्यायवाची रुपमा सम्झना हुने “घुम्तीमा नआउ है आँखा तिमी जुधाउन…” बोलको गीत उहाँको आफ्नै संगीतको गीत हो भने “गोरेटो त्यो गाउँको लौ न…” बोलको गीत प्रेमध्वज र माणिकरत्न (प्रेम-माणिक)को संयुक्त संगीतको गीत हो। उनको संगीतमा करिब १०० को संख्यामा गीत रेकर्ड भएको अनुमान छ। स्वरसम्राट नारायण गोपालले २०१६ सालमा रेडियो नेपालमा स्वर परीक्षा दिनुभएको राममान तृषितको शब्द-रचनाको ” पन्छीको पङ्खमा धर्तीको याद थियो …” बोलको गीत नै पनि प्रेम-माणिकको संगीतको थियो ।

गायक प्रेमध्वज प्रधानको लोकप्रियतामा अहिले पनि कुनै कमी आएको छैन। यहीँनेर सम्झनलायक कुरा के पनि छ भने इन्द्रराज्य प्रज्ञा पुरस्कारद्वारा सम्मानित भएलगत्तै १३ फागुन, २०४० सालको गोरखापत्रमा प्रकाशित अन्तर्वार्तामा नारायण गोपालले आफ्ना कलेजका दिनहरुको सम्झना गर्दै गायकक‍ा रुपमा कलेजमा प्रेमध्वजले पाउने प्रशंशाका कारण आफू गायनतर्फ तानिएको धारणा व्यक्त गर्नुभएको थियो।

छिन्नलता गीत पुरस्कार , नारायणगोपाल संगीत सम्मान, हिट्स एफ एम र विन्ध्यवासिनी म्युजिकबाट लाइफटाइम एचिभमेन्ट अवार्ड , सुप्रबल जनसेवाश्रीलगायत अनेकौं पुरस्कार/सम्मान/विभूषणद्वारा विभूषित एवं सम्मानित प्रेमध्वज प्रधानका थुप्रै गीतिएल्बमहरु प्रकाशित छन् । हालसम्म पनि गायनमा उत्तिकै सक्रिय उहाँको पछिल्लो गीति एल्ब म “प्रेमगीत” ८० वर्षको उमेरमा आजभन्दा तीन वर्ष अगाडि प्रकाशनमा आएको हो ।

एकीन मिति सम्झना नभए पनि गायक एवं संगीतकार प्रेमध्वज प्रधानसँग २०४० सालदेखि मेरो दोहोरो चिनाजानी भएको हो। चिनाजानी भएको केही समयपछिदेखि मैले उहाँलाई ‘दाइ’ भन्न थालेको हुँ र उहाँलाई त्यही रुपमा सम्बोधन गर्दा आत्मीय लाग्छ।

प्रेमध्वज दाइको स्वरमा आजसम्म मेरा ६ वटा गीतहरु रेकर्ड भई प्रचारप्रसारमा आएका छन् । २०४५ साल भदौमा नातिकाजी दाइको संगीतमा “नजाउ नजाउ जुनकीरी …” बोलको बाल-गीत नै उहाँको स्वरमा रेकर्ड भएको मेरो पहिलो गीत हो भने युवराज लामाद्वारा निर्देशित तथा श्री फिल्मस् (प्रा.) लि. द्वारा २०५१ सालमा निर्मित नेपाली कथानक चलचित्र “जीवन संघर्ष” मा प्रयुक्त “जिन्दगी आफैं जित हो मेरो…”, “कहाँ छुट्टिनु छ कता पुग्नु पर्छ…”, “यो सम्मान के गर्नु मरेपछि मिल्ने…”, “मनै अल्झियो मेर‍ो मुटु अल्झियो…” (सह-गायन : साधना सरगम) र ” यो कस्तो भोक, यो कस्तो खोजी…( सह-गायन : साधना सरगम) बोलका गीतहरु उहाँको गौरवपूर्ण स्वर प्राप्त गरेका मेरा अरु सिर्जनाहरु हुन्। यो चलचित्रका सबै गीतहरु प्रेमध्वज दाइको स्वर, रनजित गजमेरको संगीत र मेरो शब्दका होऊन् भन्ने चाहना निर्देशक युवराज लामाको थियो र त्यहीअनुसार यो काम भएको थियो । एउटै मात्र गायक केन्द्रित नेपाली चलचित्र अर्को छ पनि कि छैन ? एकीन गर्नका लागि खोजको आवश्यकता पर्न सक्छ!

अब फोटोको सन्दर्भमा आउँ ।
प्रेमध्वज दाइसँग ०४०/४१ सालदेखि नै समूहमा खिचिएका केही तस्बिरहरु मसँग छन् । दाइभाइ दुईजनाको फोटोचाहिँ यो नै पहिलो हो । ०४७/४८ सालतिर मलाई गीत/संगीत क्षेत्रका केही अग्रज र केही समकालीन साथीहरुको आलेख तयार गर्ने धुन चलेको थियो । यही सिलसिलामा म बागबजार, काठमाडौं स्थित प्रेमध्वज दाइको घरमा पुगें । कुराकानी गरें । दाइको सांगीतिक र जागिरे जीवन (प्रेमध्वज दाइले १९ डिसेम्बर १९५९ देखि सेवा निवृत्त नहुँदासम्म काठमाडौंस्थित अमेरिकन लाइब्रेरीमा सेवा गर्नु भयो।) लाई जोडेर “विदेशीको नुन खाएर स्वदेशका लागि गीत गाइरहेका गायक-प्रेमध्वज प्रधान” शीर्षकको आलेख तयार गरी सिने मासिक “श्री” नामको पत्रिकाको वर्ष १, अंक ४ ( पत्रिका प्रकाशनको मिति खुल्दैन- सम्भवत: २०४८ साल हो) मा छपाएको थिएँ । हो, यो फोटो त्यही आलेख तयार गर्ने सिलसिलामा दाइको घर पुग्दा २०४८ साल साउनमा खिचिएको हो र मेरा लागि अविस्मरणीय क्षण पनि यो हो ।

प्रतिक्रिया