शनिबार, वैशाख १५, २०८१

अध्ययन नगरिकन लेख्दा लेखिएको विषय नै दुर्घटनामा पर्न सक्छ !

नेपालखोज २०७९ पुष ३ गते १२:२६

सन्तोष श्रेष्ठ नेपाली सांगीतिक र साहित्यिक जगतका विशिष्ट प्रतिभा हुन् । २०३७ माघ २१ गते घोराही उपमहानगरपालिका –१२ हापुर दाङ जिल्लामा पीता यज्ञ बहादुर श्रेष्ठ माता देवकुमारी श्रेष्ठ र को कोखबाट जन्मिएका सन्तोष श्रेष्ठले ४३ वटा गीति अल्बम प्रकाशित भएका छन् ।

सङ्गीत/गायन/लेखनमा आवद्ध श्रेष्ठले स्नातकोत्तर सम्मको अध्ययन पूरा गरेका छन् । २०६२ रेडियो नेपालबाट स्वरपरीक्षा उत्तिर्ण गरेका श्रेष्ठकाे साङ्गीतिक यात्राको औपचारिक सुरुआत २०५६ बाट भएकाे हाे । ५० देशका ५० भाषाका गीतमा सङ्गीत गरेर गिनिज वर्ल्ड रेकर्ड पनि हाँसिल गरेका श्रेष्ठकाे तीन वटा साहित्यक कृति बजारमा छ । गोल्डेन कृयशन प्रा.लि.का प्रबन्ध निर्देशक रहेका श्रेष्ठले भारत, कतार, ओमन, वहराइन,थाइल्याण्ड, बङ्गलादेश, दुवई लगायतका देशकाे भ्रमण गरिसकेका छन् ।

आँसु (गजलसङ्ग्रह) २०६२, अधुरो सपना (लघुकथासङ्ग्रह) २०६८ फरैना (उपन्यास) २०७९  सांगीतिक जगत्का उनै प्रतिभा सन्तोष श्रेष्ठसँग सुभद्रा ढकालले गर्नुभएकाे कुराकानीको सम्पादित अंश

तपाइँको पारिवारिक अवस्था कस्तो थियो ?

मेरो पारिवारिक अवस्था निम्न मध्यमवर्गीय रहेको थियो ।

तपाईंको पहिलो रचना कुन हो र कहाँ प्रकाशित भयो ?

२०५६ सालमा मैले आफ्नै लय / शब्दमा महेन्द्र बहुमुखी क्याम्पस, दाङमा खुला लोकगीत प्रतियोगितामा चौतारीमा हावा सरर… बोलको गीत प्रस्तुत गरेको थिएँ । जहाँ म प्रथम भएको थिएँ ।

संगीतिक क्षेत्रमा कहिलेबाट प्रवेश गर्नुभयो ?

औपचारिक रूपमा साङ्गीतिक क्षेत्रमा २०५६ सालदेखि प्रवेश गरेको हुँ ।

तपाइँका केही चर्चित गीतहरु कुनकुन गीतलाई मान्नुहुन्छ ?
तिमीले पराई ठानेपछि पराई हुन के भयो र, आउँछु भनि निष्ठुरीले भर किन पार्नु , तिमीले भुल्न सके पनि मैले भुल्न सकिन भो, तिम्रो दिलमा चोट लाग्दा मेरो दिलमा दुख्छ, किन आउँछ तिम्रो याद एकान्तमा यति धेरै …
तिमीले हाँसो लुटी लाग्यौ रुँदैरुँदै बाँचेकी छु, तिमीलाई सन्चो छैन भन्ने खवर पाएँ मैले , परेलेको वर्षातले छातीभित्र पहिरो गयो, तिम्रै यादमा भित्रभित्रै जलीजली बाँचेकी छु …

कुनकुन चलचित्रमा संगीत भर्नुभएको छ ?

नरङ्गिएको सिउँदो- २०६८, लालजोडी–२०७३, हैरान- २०७५, लावाजुनी– २०७६, फिच्यो – २०७६, प्रेमनाथ – २०७८ नजाउ छोडी – २०७८, नम्बरी सुन – २०७९ ।

सङ्गीत बाहेक तपाईं कुन पेसामा संलग्न हुनुहुन्छ ? हुनुहुन्थ्यो ?

म आजको दिनसम्म सङ्गीत बाहेक अन्य कुनै पनि अर्को पेसामा आबद्ध भएको थिएन र छैन । मलाई विश्वास छ सङ्गीतबाटै बाँचिरहन सकिन्छ ।

लेखन र सङ्गीत क्षेत्रबीच कस्तो फरक छ ?

दुवै सिर्जनात्मक विषय हुन् । आफ्नै विशिष्टता जोडिएको छ । सङ्गीतको अभावमा लेखनले मूर्त रूप पाउन सक्दैन । समग्रमा दुवै विषय एक अर्काको पर्याय पनि हुन् ।

तपाइँको भर्खरै प्रकाशन भएको फरैना उपन्यास कस्तो खालको उपन्यास हो ?

फरैना सामाजिक विषयको उपन्यास हो । थुप्रै शोषित पीडित नेपाली नारीहरू जसले भोक, प्यास, पीडा, अभावहरू झेल्दै उज्यालो भविष्यको बाटोमा यात्री बनिरहेका समाजमा गुमनाम रहेका जसका जसका अठोट र आत्मविश्वासमा सुनौलो रङ भरिन बाँकी नै छ तिनै भुइँमान्छेहरूको आवाज हो फरैना उपन्यास ।

फरैना उपन्यासमा पाठक प्रतिक्रिया कस्तो छ ?

फरैना उपन्यासमा पाठक प्रतिक्रिया सोचेभन्दा राम्रो आइरहेको छ । बजारमा पहिलो संस्करण सकिएको छ । दोस्रो संस्करणको तयारी भइरहेको छ ।

साहित्य लेख्न अध्ययनको जरुरी हुन्छ कि हुन्न ?

अध्ययन नगरीकन लेख्दा लेखिएको विषय नै दुर्घटनामा पर्न सक्छ । राम्रो पढ्नेले मात्रै राम्रो लेख्न सक्छ । राम्रो सुन्नेले राम्रो बोल्न सक्छ । अध्ययन भनेको साधना हो । साधना बिना स्तरीय लेख्न गाह्रो हुन्छ ।

तपाईंका प्रकाशित कृतिहरू कुन–कुन हुन् ?

साङ्गीतिक पाटोमा मेरो एकल सङ्गीतबद्ध ४३ वटा गीति अल्बम प्रकाशित भएका छन् । साहित्यिक पाटोमा फरैना मेरो तेस्रो कृति हो ।

अन्त्यमा आफ्ना पाठकलाई के भन्न चाहनुहुन्छ ?

मेरो लेखनप्रति विश्वास गर्नुभएका सम्पूर्ण शुभचिन्तकहरूमा कृतज्ञता व्यक्त गर्दछु । आजको लेखनभन्दा भोलिको लेखन यात्रामा अझै परिस्कृत र परिमार्जित भएर आउन साधनामा निरन्तर लागिरहने छु ।

प्रतिक्रिया