शुक्रबार, वैशाख १४, २०८१

ग्याजेटको प्रयोग र बिचारहरुको मृत्यु

हरिकृष्ण खतिवडा ‘अपरूष’ २०७७ माघ २५ गते १०:५४

यो शताब्दीलाई हामी वैज्ञानिक शताब्दीको नामले पुकार्दछौं । विज्ञानले प्रविधिको क्षेत्रमा एउटा अनौठो बाजी मारिसकेको कुरा सर्वविदितै छ । प्रविधिमा हरेक व्यक्तिको राम्रो पहुँच छ परन्तु तीब्र प्रविधिको विकास र प्रयोगमा रमाइरहेको आजको युगमा व्यक्तिका बिचारहरुको भने बिस्तारै मृत्यु भइरहेको छ । ग्याजेट र इन्टरनेटको प्रयोगले युवापुस्ताले सोच्ने फुर्सदै पाएका छैनन् । थोरै समय निस्कने बित्तिकै युवापुस्ता ग्याजेटभित्रका गेमहरु वा इन्टरनेटमा प्रवेश गरिहाल्छन् । एक आपसमा भावना साटासाट गर्ने, एक अर्काको कुरा सुन्ने र बिचारहरु आदानप्रदान गर्ने परम्पराको नाश हुनाले युवापुस्ताको मस्तिष्क वास्तविकताभन्दा अत्यन्त जाँदै छ । च्याटिङमा गरिने सानासाना कुराकानीले मनोभावना व्यक्त गर्न नसकिने मात्र होइन यसले हाम्रा मनमा गुम्सिएका बिचारहरुलाई प्रस्फुटित हुनसमेत दिएको छैन ।

छोटाछोटा सुचना र कुराकानीले एउटा व्यक्तिको मजबुत बिचारहरु कुनै पनि हालतमा प्रस्फुटन हुन पाउँदैन । जीवन र जगत सम्बन्धी हरेक व्यक्तिका आ–आफ्नै भोगाई हुन्छ । मान्छेको भोगाई र सोच भनेको दीर्घकालसम्म अविछिन्न रहनुपर्ने हो तर हाम्रा आजका सोचहरु अत्यन्त क्षणिक र दुर्बल हुँदै छन् । यी क्षणिक सोचहरुले सद्भाव र भाइचारासमेत नष्ट हुँदैछन् । मुलुक र समाजकाप्रति एउटा व्यक्तिको दिमागमा अत्यन्त उदात्त दीर्घकालीन सोच र भावना आवश्यक हुनुपर्दछ, तर यी आधुनिक ग्याजेटको प्रयोगले व्यक्तिको सोच अत्यन्त क्षणिक र हीनभावना ग्रस्त हुनाले मान्छेले समाजलाई हेर्ने त्यो उदात्त सोच बनाउनै सकेको छैन । यसले वैज्ञानिक युगमा मान्छे त फगत् एउटा रोबोट हुन पुगिसकेको छ ।

मान्छे त बिचारहरुको पुञ्ज हो । मान्छेले गर्ने बिचार र तर्क वितर्कले नै मान्छेलाई जीवन जगत्का यावत् विषयहरुमा फैलन प्रेरित गरेको थियो । मान्छे नै हो जसले संसारमा बन्धुत्व, भाइचारा र सर्व प्राणीको हितको बिचारलाई अघि सार्यो । मान्छेले नवनव तर्कसंगत बिचारका कारण नै यो धर्तीमा आफ्नो अस्तित्व जोगाएको थियो । मान्छेले जीवन दर्शनका यावत् गहन विषयहरु खोजेको थियो । त्यही खोजले नै ऊ आजको आधुनिक ग्याजेट र प्रविधिकोे युग समात्न पुगेको हो तर यही ग्याजेट र प्रविधि आज मान्छेको दुर्भाग्य साबित हुन गइरहेको छ । उसका उदात्त बिचारहरु मृतप्रायः हुँदै गएका छन् ।

मान्छेले गम्भीर भएर बिचार गर्ने हो भने ऊ छतबाट चुहिएको वर्षात्को पानीमा संगीत सुन्न सक्छ । जङ्गलका रुखका पातका संवादहरु सुन्न सक्छ । त्यसैको एउटा गीत लेख्न सक्छ । बसन्तका पालुवाहरुमा उसले सुन्दर युवतीका दन्तलहर देख्न सक्छ । अग्ला पहाडका चुचुरामा विश्वको छानो देख्न सक्छ । भान्सामा काम गरिरहेकी आमाको चुराको छुनमुने आवाजमा खारिएको शास्त्रीय संगीत भेट्न सक्छ । हावाले हल्लाएका फूलका बोटहरुबाट मीठो अत्तरको बासना सुँघ्न सक्छ तर अफसोच आज फेसबुकका स्टाटसहरु र दुई हरफे टुइट्मा मान्छे जीवनका अनगिन्ती सुगन्ध खोज्दै छ जहाँबाट त्यस्तो सुगन्ध आउन संभवै छैन । गुडिया खरायोले जीवन्त खरायोले दिने आनन्द दिन कहाँ सक्छ र ? एक पटक मोबाइलको स्क्रिन बन्द गरेर सोच्नैपर्ने बेला भएको छ, जसले जीवनका अनगिन्ती बिचारहरुसँग आत्मसाक्षात्कार गराओस् ।

मोबाइलका स्क्रिनमा प्ले भइरहेका गेमहरु, भिडियोहरु, अत्यन्तै सस्तो लोकप्रियताको लागि लेखिएका स्टाटस, समाचारका घिनलाग्दा शीर्षकहरु र युटुबमा देखाइने ज्ञान नामका अज्ञानहरुले हाम्रा महान् बिचार र तर्कहरुलाई निरन्तर घाँटी अँठ्याएर मारिरहेका छन् । यसले मान्छे हिँडिरहेको, बाँचिरहेको, बोलिरहेको, खाइरहेको, देखिरहेको तर बिचारहीन मुर्दामा परिणत भइरहेको छ । ऊ मुर्दामा परिणत त इन्टरनेट जडित मोबाइल नामको खेलौनाका कारण भइरहेको हो । घन्टौंसम्म बाँदरले घाउ चिलाएको जस्तो ऊ मोबाइलको स्क्रिनलाई चिलाउँछ र अन्ततोगत्वा बिचारहीन बाँदरमा नै परिणत हुन्छ । बिचारहरुको उदयको लागि त उसले आँखा अगाडि भएका साथीहरुसँग कुरा गर्नुपर्ने हुन्छ । फूलहरुसँग संवाद गर्नुपर्ने हुन्छ । मन्दिरका घन्टीहरुको जीवन्त संगीत सुन्नुपर्ने हुन्छ । किताबहरु पढ्नुपर्ने हुन्छ न कि मोबाइलको स्क्रिन चिलाउनुपर्छ ।

अर्कोतर्फ ग्याजेट र इन्टरनेटको ज्यादा प्रयोगले सम्बन्धहरु धराशायी बन्दै गएका छन् । ग्याजेटमार्फत भेटिएका साथीको क्षणिक प्रेम र मनोभावनाले आह्लादित भएका धेरै किसोर किसोरी र प्रौढहरुको समेत सामाजिक जीवन कष्टकर बन्दै गएको छ । समाजिक मर्यादालाई ख्यालै नगरी इन्टरनेटको साथीलाई विश्वास गर्दा त्यसले अपराधको रुप लिएको कुरा धेरै पटक बाहिरिई सकेको छ । सामाजिक सञ्जालमा भावनाको व्यापार गरिरहेका धेरै मानिसहरुको घर व्यवहार मात्र बिग्रिएको छैन अपितु सामाजिक परिबन्धहरुलाई पनि ध्वस्त पार्ने गरी कतिपय अवस्थामा यस्ता घटना डरलाग्दो र लाजमर्दोरुपमा बाहिरिई रहेका छन् । यी घटनाका भोक्ताहरुलाई कसरी ग्याजेटका कारण पारिवारिक सम्बन्ध धराशायी बन्दै गएका छन् भन्ने कुरा राम्ररी थाहा छ ।

मान्छेका जीवन सहज बनाउनमा प्रविधिले जति सहयोग गरे तापनि हाम्रा भावना र बिचारहरु भने अत्यन्तै क्षीण र दुर्बल बनाएको यथार्थ हामीले भुल्नुहुँदैन । सामाजिक सञ्जाल र ग्याजेटले टाढा हुँदा भेटेजस्तो बनाए तापनि सँगै बसेर खाना खानुको आनन्द कदापि दिन सकेको छैन । यसमा आत्मिकता र हार्दिकता फिटिक्कै छैन । जीवन यापनका लागि थोरै सहज बनाउने यस्तो खेलौनाको विश्वासमा हामीले हाम्रा तर्क, बिचार र जीवनपद्धतिलाई असहज बनाउन हुँदैन । बिचार, तर्क र विमर्शहरुलाई मर्न दिने हो भने मानव अस्तित्व डायनासोरको अस्तित्व जस्तै धर्तीबाट सधैंको लागि खतम हुन सक्छ । तसर्थ हामीले बिचारहरुमा बाँच्नको लागि ग्याजेटका तमाम दुरुपयोगबाट बच्न जरुरी छ । यो वैज्ञानिक युग भनिएको युगको अर्को चुनौती हो ।

प्रतिक्रिया