‘सरकारबाट संविधानको आधार भत्काउने काम भयो, संवैधानिक परिषद् बैठकमा जान्नौं’

काठमाडाैं । प्रधानमन्त्री एवं संवैधानिक परिषद् अध्यक्ष केपी शर्मा ओलीले बोलाएको परिषद्को बैठकमा नेपाली कांग्रेस सहभागी नहुने भएको छ ।
पटक-पटक संघीय संसद्लाई छलेर अध्यादेश जारी गरी संवैधानिक परिषद्सम्बन्धी ऐनलाई संशोधन गर्ने अनुचित काम गरेको भन्दै कांग्रेसले संवैधानिक परिषद्को बैठकमा सहभागी नहुने जानकारी गराएको हो ।
सभापति शेरबहादुर देउवाले आज एक विज्ञप्ति जारी गर्दै सरकारले पछिल्लोपटक ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पार्टीगत मनसायबाट प्रेरित भएकोसमेत आरोप लगाएका छन् ।
अध्यादेशमार्फत संविधानको आधारलाई नै भत्काउने काम भएको भन्दै उनले कानुन निर्माण र संशोधन गर्ने संसद्को आधारभूत, मौलिक एवं अविच्छिन्न अधिकारलाई कुण्ठित गरी अध्यादेशमार्फत संविधानको संरचना नै भत्किने गरी पटक-पटक अध्यादेश जारी गर्ने काम भएको बताए ।
अध्यादेश संवैधानिक परिषद्को कार्य विधिलाई नै प्रभावित गरी संवैधानिक निकायमा पार्टीगत नियुक्ति गर्ने मनसायबाट प्रेरित रहेकोसमेत उनले बताए । ‘अध्यादेश संवैधानिक परिषद्को कार्यविधिलाई नै प्रभावित गरी संवैधानिक निकायमा पार्टीगत नियुक्ति गर्ने कलुषित मनसायबाट प्रेरित छ,’ देउवाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेस संविधानको मूल मर्ममा प्रहार गरी संवैधानिक संरचनालाई नै भत्काउने गरी अध्यादेश जारी गरेको अवस्थामा संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतले भाग नलिने स्पष्ट गर्न चाहन्छ ।’
संविधानको मूल मर्ममा प्रहार गरि संवैधानिक संरचनालाई नै भत्काउने गरी अध्यादेश जारी गरेको अवस्थामा संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतले भाग नलिने सभापति देउवाले विज्ञप्तिमार्फत बताएका छन् ।


प्रतिक्रिया