शुक्रबार, पुष ४, २०८२

निषेधाज्ञा यात्रु ठग्ने बाहाना, तोकिएको भन्दा तीन गुणा बढी भाडा

नेपालखोज २०७८ वैशाख २५ गते १६:१५

काठमाडाैं । काठमाण्डाैमा बढी भाडा लिएर यात्रुलाई ठगी गर्ने थप सात जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाण्डौ उपत्यकामा निषेधाज्ञा लागू भएपछि गरिएकाे छड्के जाँचका क्रममा उनीहरु पक्राउ परेका प्रहरीले जनाएको छ ।

वैदेशिक रोजगारीबाट आएका र अत्यावश्यक काम परि उपत्यका बाहिरका जिल्लाहरु जानु पर्ने यात्रुहरुसँग तोकिएको भन्दा तीन गुणा बढी भाडा लिने काउण्टरका कर्मचारीलाई कलंकी र बसपार्क क्षेत्रबाट पक्राउ गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले बताए ।

उनीहरुले धनुषा, महोत्तरी र वीरगञ्ज जाने यात्रुहरु संकलन गरी प्रति व्यक्ति पच्चिस सय देखि तीन हजारसम्म भाडा लिने गरेको पाइएको छ । उनीहरुलाई आवश्यक कारबाहीको लागी प्रहरी वृत्त कालीमाटीमा बुझाएको महाशाखाले जनाएको छ ।

त्यसैगरि गाेंगबु बसपार्कबाट रुकुम जाने यात्रुहरुसँग ६ हजारका दरले भाडा लिने रुकुम पश्चिम यातायात प्रा.ली.का कर्मचारी रुकुम सिस्नेरीका गणेश रावल र भागीराम छिनाललाई पक्राउ गरि थप कारबाहीको लागि प्रहरी प्रभाग नयाँबसपार्कमा बुझाएको समेत महाशाखाले जनाएको छ ।

पछिल्लो समय काउन्टरका कर्मचारी तथा बुकिङ्ग स्टाफहरु नै बढी भाडा लिएको कसुरमा पक्राउ पर्ने क्रम बढेको छ । यस अघि महाशाखाले १६ जनालाई पक्राउ गरि कारबाही गरेको पनि जनाएको छ ।

प्रहरीले बढी भाडा लिएको भए १०० वा ट्राफिक कन्ट्रोलको १०३ नम्बरमा सम्पर्क गरी जानकारी गराउन पनि आग्रह गरेको छ ।

प्रतिक्रिया