‘प्रधानमन्त्रीलाई फेरि सदनमा आएर विश्वासको मत माग्ने कुनै अधिकार छैन’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं ससदीय दलका नेता पुष्पकमल दाहालले पार्टी एकता भंग हुनु र मुलुक राजनीतिक अस्थिरता तर्फ उन्मुख हुनुको मुख्य कारक प्रधानमन्त्री केपी शर्मा ओली भएको दाबी गरेका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रधानमन्त्रीले प्रस्तुत गरेको विश्वासको मतको प्रस्तावको बारेमा बोल्दै अध्यक्ष दाहालले सरकार गठन भएदेखिका सम्पुर्ण कार्य समिक्षा गर्दा अहिलेको अवस्था सृजना हुनुमा प्रधानमन्त्री ओली नै मुख्य जिम्मेबार रहेको बताए । उनले प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्रीलाई फेरि सदनमा आएर विश्वासको मत माग्ने कुनै अधिकार नरहेको दाबी गरे । संसद पुनः स्थापना भएकै दिन आफुले प्रधानमन्त्री ओलीलाई नैतिकताको आधारमा राजीनमा दिएर नया सरकार गठनको मार्ग प्रशस्त गर्नु उपयुक्त हुन्छ भन्ने सुझाव दिएको स्मरण गर्दे उनले विश्वासको मत माग्नु भन्दा राजीनामा दिनु नै लोकतान्त्रिक हुने तर्क गरे ।
उनले प्रधानमन्त्री ओलीले संविधान कार्यन्वयन गर्नु भन्दा त्यसलाई आक्रमण गर्ने काम गरेको भन्दै अहिले संविधान आईसीयुमा पुगेको टिप्पणी गरे । उनले भने, “संविधान पनि बडो नराम्रो संग चिथोरिएको, कोपरिएको, संविधानलाई नै कोरोना लागेजस्ता । समाज त कोरोनाले आक्रामक छदैछ । खासगरी सरकारका गतिविधिले संविधानलाई पनि कोरोना लागेजस्तो । आईसीयुमा राखेको जस्तो अवस्थाबाट हामी गुज्रीनु परेको छ । ”
अध्यक्ष दाहालले राष्ट्रिय समस्याको मुल कारक नै प्रधानमन्त्री ओली रहेको दाबी गरे । उनले पार्टी एकताको समयमा भएका सहमति सम्झौताहरुलाई प्रधानमन्त्री ओलीले उलंघन गरि दंभ र अहंकारसहित संविधान मिच्ने काम गरि संविधान, लोकतान्त्रिक प्रणाली, कम्युनिष्ट एकतालगायतमा प्रहार गर्ने काम गरेको आरोप लगाए । बामगठबन्धन र कम्युनिष्ट एकतासंगै राजनीतिक स्थायीत्व, विकास र सम्मृद्धिको एजेण्डालाई प्रधानमन्त्री ओलीले सुरुवाती दिनदेखि नै तुहाउने काम गरेको दाबी गरे ।
अध्यक्ष दाहालले पार्टी एकताको समयमा भएको आलोपालो नेतृत्व गर्ने सहमति पनि प्रधानमन्त्री ओलीले तोडेको खुलासा गरे । उनले भने, “हिजो हामीले गरेको सहमति समझदारी मैले तोडेको हो र प्रधानमन्त्री जी ? पालोपालो प्रधानमन्त्री । पालोपालो अध्यक्षको सहमति मैले तोडेँ ? त्यसो गरेको भए आज यो देश कहाँ हुन्थ्यो ? ”
अध्यक्ष दाहालले पार्टीको आन्तरिक वहस र विवादलाई अघि सारेर संगो देश र जनतालाई आक्रान्त हुने गरि प्रधानमन्त्री ओलीले संसद विघटन गरेको बताए । आफैले प्रतिनिधिसभा विघटन गरेर आफै फेरि सदनमा उभिएर विश्वासको मत माग्ने कुरा अस्वभाविक भएको भन्दै उनले प्रधानमन्त्रीलाई मत माग्ने अधिकार नै नरहेको बताए । अध्यक्ष दाहालले विश्वासको मत पाउँदिन भन्ने थाहा पाउँदा पाउँदै पनि संसदमा विश्वासको मत लिन आउँदा प्रधानमन्त्रीको नियतमा शंका उब्जिएको बताए ।
उनले फेरि संसद विघटनको बाटो बनाउनका लागि विश्वासको मत लिने काम गर्नुभएको त होइन भनी प्रधानमन्त्रीलाई प्रश्न गरेका छन् । अध्यक्ष दाहालले प्रधानमन्त्रीले सदनमा विश्वासको मत लिने काम नाटकीय लागेको टिप्पणी गरे । नियमित अधिवेशन बस्नुपर्ने बेलामा विशेष अधिवेशन बोलाउँदा प्रधानमन्त्रीले लोकतान्त्रिक मुल्य मान्यतालाई छल्न खोजेको आशंका उब्जिएको टिप्पणी गरे । उनले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीलाई पुनस्थापना पछि पनि फेरि विघटन गर्न सक्ने डरले समर्थन फिर्ता नगरेको स्पष्ट पारे ।
उनले सरकारमा बसेपछि प्रधानमन्त्री ओलीमा दंभ, अहंकार बढेको र त्यही दंभ र अंहकारले मुलुकलाई अस्थिरता तर्फ धकेल्ने काम गरेको टिप्पणी गरे । दोस्रो लहर सुरु हुन लागिसकेको बेला प्रधानमन्त्रीले रथयात्रा, सभा र ठूला ठूला जुलुश लिएर हिडेको उल्लेख गर्दै संक्रमण बढाउने कामको अरुलाई दोषारोपण गर्न नमिल्ने बताए ।

प्रतिक्रिया