कोभिड-१९ उपचारका लागि अस्पताल र शय्या थप्ने सरकारको तयारी

काठमाडौं । सरकारले कोभिड–१९ को रोकथाम, उपचार र नियन्त्रणका लागि स्वास्थ्यको भौतिक पूर्वाधार थप्ने क्रम जारी राखेको छ। सरकारले सङ्क्रमण दोस्रो लहरको बढेपछि कोभिड–१९ व्यवस्थापनका लागि लक्षित कार्ययोजनाअनुसार अस्पताल र शय्या थप्ने निर्णय गरेको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का प्रवक्ता किरणराज आचार्यले विज्ञप्ति जारी गर्दै कार्ययोजनानुसार नै सङ्क्रमणको रोकथाम, उपचार र नियन्त्रणका लागि अस्पताल र शय्या थप गरिएको जानकारी दिए।
उनका अनुसार १२ अस्पताल, ५४ सघन उपचार कक्ष, १२ हाई डिपेन्डेन्सी युनिट र पाँच भेन्टिलेटर थप गरिएको छ। नयाँ थपसँंगै अहिले अस्पताल ५०५, आइसियु एक हजार ८७१, भेन्टिलेटर ७४१, एचडियु दुई हजार ८७७ र शय्या २० हजार ३६४ पुगेका छन्।
प्रवक्ता आचार्यका अनुसार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट काठमाडौँ उपत्यकामा तीन टोली परिचालन गरी बजार अनुगमन गरिएको छ। अनुगमनका क्रममा छ पसललाई जरिवाना गरिएको छ।

प्रतिक्रिया