प्रधानमन्त्री नियुक्ति प्रक्रिया थाल्न ३ दलको आह्वान

काठमाडौं । केपी शर्मा ओली प्रधानमन्त्रीबाट पदमुक्त भएसँगै नयाँ प्रधानमन्त्री नियुक्तिका लागि प्रक्रिया प्रारम्भ गर्न तीन दल (नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी नेपाल) ले आह्वान गरेका छन् । संसद्बाट विश्वासको मत पाउन असफल भएपछि प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्री नियुक्त प्रक्रिया अघि बढाउन राष्ट्रपति विद्यादेवी भण्डारीलाई आह्वान गरेका छन् ।
प्रधानमन्त्री पदमुक्त भएको अवस्थामा बहुमतको सरकार निर्माणको अर्को प्रक्रिया थाल्नका लागि तीन दलका अध्यक्षहरुले संयुक्त विज्ञप्ति जारी गरेको नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए ।


प्रतिक्रिया