मंगलबार, चैत ६, २०८०

नेपाल सुपर लिग : काठमाडौंलाई हराउँदै धनगढी फाइनलमा प्रवेश

नेपालखोज २०७८ वैशाख २८ गते २१:५७

काठमाडौं । धनगढी एफसी नेपाल सुपर लिग (एनएसएल) फुटबलको फाइनलमा प्रवेश गरेको छ । दशरथ रङ्गशालामा आज भएको रोमाञ्चक खेलमा काठमाण्डौ रेजर्सलाई दुई–एक गोलले हराउँदै धनगढी उपाधि नजिकै पुगेको हो ।

निर्धारित ९० मिनेटको समयमा एक–एक गोलको बराबरी भएपछि खेल ३० मिनेटको अतिरिक्त समयमा पुगेको थियो । काठमाण्डौका लागि तेज तामाङ र धनगढीका लागि पुजन उपकोटीले गोल गरेका थिए । तर एक सय आठौँ मिनेटमा विशाल राईले गोल गर्दै धनगढीलाई फाइनलमा पुर्‍याए ।

खेलमा काठमाण्डौले पर्याप्त दबाब बनाए पनि जित्न भने सकेन । आजको जितसँगै धनगढीले समूह चरणमा काठमाडौंसँग हारेको बदला पनि लिएको छ ।

आज पराजित भएको काठमाडौंको अझै फाइनल पुग्ने सम्भावना छ । काठमाण्डौले अब बुटबल लुम्बिनी र ललितपुर सिटीबीचको विजेतासँग इलिमिनेटरमा खेल्नेछ ।

प्रतियोगिताको विजेताले ३५ लाख र उपविजेताले १५ लाख रुपैयाँ पुरस्कार पाउने छन् । व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीले जनही एक लाख रुपैयाँ पाउने छन् ।

प्रतिक्रिया