गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुन: पृथ्वी सुब्बा

काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुन: पृथ्वी सुब्बा गुरुङ नियुक्त भएका छन् । प्रदेश प्रमुख सीता पौडेलले बहुमतको सरकार बन्न नसकेपछि ठूलो दलको हैसियत पुन: गुरुङलाई नै मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमतको सरकार बन्न नसकेपछि प्रदेश प्रमुख पौडेलले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सबैभन्दा धेरै सदस्य भएको दलको संसदीय दलको नेतालाई मुख्यमन्त्रीमा नियुक्त गरेकी छन् ।
अब उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ । आज दिउँसो ४ बजेसम्म विपक्षी दलहरु कांग्रेस, माओवादी र जसपाले सरकार गठनका लागि समय पाएका थिए । तर राष्ट्रिय जनमोर्चाका दुई सांसद तथस्थ बस्दा सरकार बन्न नसकेको हो । ६० ससस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले आफ्नो पक्षमा ३१ सांसदको समर्थन रहने दाबी गरेका थिए ।
तर जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापा र प्रदेशसभा सदस्य खिमविक्रम शाहीले आफूहरु कुनै गठबन्धनमा नरहेको विज्ञप्तिमार्फत जनाएपछि पोखरेलको मुख्यमन्त्री बन्ने सपना तुहिएको छ । जनमोर्चाकै पियारी थापाले भने पोखरेलाई साथ दिएकी थिइन् ।


प्रतिक्रिया