‘संक्रमण जोखिमका दृष्टिले आगामी ३ साता निकै कठिन’ (भिडियोसहित)

नेपालखोज २०७८ वैशाख २९ गते १९:५१

काठमाडौं । जनस्वास्थ्यविद् डाक्टर रविन्द्र पाण्डेले कोभिड १९ संक्रमण जोखिमका दृष्टिले आगामी ३ साता निकै कठिन रहेकाले स्वास्थ्य मापदण्ड कडाईका साथ पालना गर्न सबैलाई आग्रह गरेका छन् ।

कोभिड १९ को पहिलो लहर भन्दा दोस्रो लहरमा संक्रमण सार्ने क्षमता बढी तथा बिरामीको स्वास्थ्य अवस्था जटिल बनाउने देखिएकाले स्वास्थ्य मापदण्डलाई कडाईका साथ पालना गर्नुपर्नेमा उनले जोड दिए । उनले दोस्रो लहरमा कोभिड १९ संक्रमणको फैलावट बढी भएको, कोभिड निमोनिया र अधिकांशलाई अक्सिजनको कमि हुने लक्षण देखिएकाले बढी सतर्क हुन जरुरी रहेको बताए ।

उनले भने, “त्यो बेला एउटै घरमा दुईवटा संक्रमित हुने र बाँकी संक्रमित नहुने परिस्थिति थियो । यो पटक एकजना संक्रमित भयो भने सबैजना संक्रमित हुने अवस्था छ । गतसाल कोभिड निमोनिया एकदमै कमलाई भएको थियो । ९० प्रतिशत होइम आईसोलेसनमा नै निको भएका थिए । यो पटक धेरैलाई कोभिड निमोनिया भएको छ । अक्सिजन चाहिने, अस्पतालको, डाक्टरको सहयोग चाहिने अवस्था छ । कोभिड निमोनियाको कारणले गर्दा अक्सिजनको माग एकदमै बढेको छ । अस्पतालका वेडहरु पनि भरिभराउ छन् । विभिन्न अस्पतालहरुले उपचार गर्न सक्क्तैनौँ भनेर विरामीलाई डिस्चार्ज गरेको, विरामीलाई नलिएको अवस्था छ । परीक्षणको हिसाबले हेर्ने हो भने ३५ प्रतिशतमा पोजेटिभ देखिएको छ । हाम्रो स्वास्थ्य संरचनाले धान्न नसक्ने हो कि भन्ने स्थिति देखा परेको छ । त्यो कारणले गर्दा यो ३ हप्ता चाही हाम्रा लागि निकै कठिन पुर्ण छ । गतसाल भारतमा पिकमा पुगेको ३ हप्तामा हाम्रो पिकमा पुगेको थियो । यो तिन हप्ता भित्र हामी संक्रमित भयौ भने अस्पतालको बेड पाउन गाह्रो छ । अक्सिजन पाउन गाहो छ । ”

उनले दोस्रो लहरमा धेरै संक्रमितमा इण्डियन भेरियन्ट नै देखिएको तथा खुल्ला सिमानाका कारण भारतमा फैलिदोँ संक्रमणकै गतिमा नेपालमा पनि संक्रमितहरु बढ्न सक्ने अवस्थालाई मनन गरी आगामी ३ हप्ता दुःख सहेरै भएपनि घरभित्रै बस्नुपर्ने अवस्था रहेको बताए ।

उनले सही तरिकाले डबल मास्क लगाएर भौतिक दुरी कायम गर्न सकेमा संक्रमणको चेन तोडिने विश्वास व्यक्त गरे । तर त्यसका लागि आम नागरिकमा आत्मअनुशासन आवश्यक रहेको बताए । धेरै देशहरुमा नागरिकहरु अनुशासित भएर बसेकाले कोभिड नियन्त्रणमा सहज भएको भन्दै उनले त्यसतर्फ समयमै सचेत हुनुपर्ने आवश्यकता औल्याए । उनले विद्यमान अवस्थामा अस्पतालहरुमा बेड कमि भएकाले विस्तारका लागि धैरै काम गर्नुपर्ने भएपनि हेल्थ सिस्टम नै कोल्याब्स भयो भन्ने कुरा सही नभएको दाबी गरे ।

जनस्वास्थ्यविद् डाक्टर पाण्डेले कोभिड १९ संक्रमणको नियन्त्रण तथा रोकथामका लागि सरकारले जनस्वास्थ्यका मापदण्ड पालनामा कडा निगरानी गर्नुको साथै अस्पतालहरुको क्षमता वृद्धि, अक्सिजनको सहज आपुर्ति र खोप आयातमा विशेष पहल गर्नुपर्ने आवश्यकता औल्याए । उनले संक्रमित भएपनि खोपको दोस्रो डोज लगाएकाहरु संक्रमित भएपनि स्वास्थ्य अवस्था गम्भीर नभएकाले खोपको सुनिश्चितता गर्नुपर्ने कुरालाई प्राथमिकतामा राख्नुपर्ने बताए ।

उनले अस्पतालहरुले अक्सिजन लगायतको कारण देखाएर विरामीलाई फर्काउने काम नगर्न र सकेको उपचार र परामर्श दिन आग्रह गरे । संक्रमितहरुले पनि छाती लगायतको प्रारम्भीक परीक्षण गरी सचेतता अपनाउन पनि आग्रह गरे ।

महामारी समुन्द्रको छाल जस्तो भएको र उच्चविन्दुमा पुगेपछि क्रमैसंग तल झर्दै जाने भएकाले आगामी ३ हप्ता विशेष सचेत हुनुपर्नेमा डा. पाण्डेले जोड दिए । उनले अस्पताल, विरामी र नकारात्मक समाचारमा भन्दा आत्मबल बलियो बनाई, योजनाबद्ध तरिकाले संक्रमित भईहाले के गर्ने भन्नेबारे पुर्वतयारीका स्वास्थ्यका मापदण्ड अपनाएर घरमै बस्न सुझाव पनि दिएका छन् ।

प्रतिक्रिया