मंगलबार, चैत ६, २०८०

ललितपुर सिटी नेपाल सुपर लिगको क्वालिफायरमा प्रवेश

नेपालखोज २०७८ वैशाख २९ गते २०:१४

काठमाडौं । अञ्जन विष्टको निर्णायक गोलको मद्दतमा ललितपुर सिटीले राजधानीमा जारी नेपाल सुपर लिग (एनएसल)को दोस्रो क्वालिफायरमा स्थान बनाएको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालमा भएको खेलमा अञ्जनले ६२औं मिनेटमा गरेको गोल निर्णायक बन्दा ललितपुरले दोस्रो क्लालिफायरमा स्थान बनाउन सफल भएको हो ।

पराजित भएसँगै बुटवल लुम्बिनीको नेपाल सुपर लिगको यात्रा इलिमेनेटरमा समाप्त भएको छ । निकै प्रतिस्पर्धात्मक खेलमा दुबै टोली सुरुआतबाट नै आक्रमक देखिएका थिए । जितले मात्र अघिल्लो चरण प्रवेशको ढोका खुल्ने अवस्थामा दुबै टोली जितको खोजीमा मैदान उत्रिएका थिए । सोही अनुसार आक्रामक देखिएको ललितपुरका लागि १२औं मिनेटमा १५ यार्ड टाढाबाट डोना थापाले प्रहार गरेको बल गोल पोस्ट नजिकैबाट बाहिरिएको थियो ।

त्यसको सात मिनेट पछि अनमार्क रहेका बुटवलका विलियम्सको प्रहार निकै फितलो भयो । २५औं मिनेटमा डोनाको पासमा नुर्लान जाहिदले पेनाल्टी क्षेत्रबाट प्रहार गरेको बल बुटवलका गोलकिपर विशाल श्रेष्ठले उत्कृष्ट बचाउ गरे । ३३ औं मिनेटमा ललितपुरका अन्जन विष्टले डिबक्स बाहिरबाट प्रहार गरेको बल बुटवलका गोलकिपर विशाल श्रेष्ठले पुन उत्कृष्ट बचाउ गरे । ४० औं मिनेटमा बुटवलका विलियमले वान भर्सेस वानमा गोल गर्न सकेनन् ।

त्यसपछि दोस्रो हाफ तिर लम्किएको खेलमा बुटवल लुम्बिनी आक्रामक देखियो । बाम्बार प्रयास गरे पनि गोलले पोस्टको दिशा लिन सकेन । काउन्टरकै प्रयास रहेको ललितपुरले ६२औं मिनेटमा अञ्जन विष्टकोग गोलबाट अग्रता पायो । अञ्जनले डाइभ हेडिङमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए । उक्त गोल नै टोलीलाई दोस्रो क्वालिफायरमा पुग्न पर्याप्त भयो । बाँकी सयममा पनि ललितपुर अग्रता बढाउने प्रयासमा काउन्टर गरे पनि सफल हुन सकेन् ।

बुटवल लुम्बिनीका खेलाडीले पनि केही राम्रा अवसरलाई सदुपयोग गर्न चुके । फल स्वरुप लुम्बिनी प्रतियोगिताबाट बाहिरिन बाध्य भयो । सुरुआत कमजोर भए पनि ललितपुरले लिग चरणका अन्तिम खेलमा पुनरागमन गर्दै शीर्ष चारमा स्थान बनाउन सफल भएको थियो । अनपेक्षित खेल प्रदर्शनबाट ललितपुरका प्रमुख प्रशिक्षक प्रदिप हुमागाईलाई बर्खास्त पछि सहायक रेफ्रि राजु तामाङले टोली सम्हालेका थिए ।

पहिलो प्लेअफमा धनगढी एफसीसँग पराजित भएपनि प्रतियोगिताको फम्र्याट अनुसार काठमाडौंले दोस्रो क्वालिफयामा अब ललितपुरसँग खेल्नेछ । लिग चरणको खेलमा ललितपुरले तेस्रो र बुटवलले चौथो स्थानमा रहदै प्लेअफमा स्थान बनाएका थिए ।

खेलमा ललितपुर सिटीका गोलकिपर अपर्ण कार्की सुपर प्लेयर्स अफ दि म्याच चुनिए । कार्कीले नगद २५ हजार रुपैयाँ प्राप्त गरे । यस्तै इमर्जिङ प्लेयर्सको उपाधि ललितपुर सिटीका मिडफिल्डर मिक्चेन तामाङ चुनिएर नगद १० हजार रुपैया प्राप्त गरे ।

प्रतिक्रिया