एमाले नेता नेपालसहित ४ नेताको कारबाही फिर्ता (भिडियोसहित)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवंम् प्रधानमन्त्री केपी शर्मा ओली पार्टीका चार नेतामाथि गरेको कारबाही फिर्ता लिन तयार भएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहानदेखि छलफलमा जुटेका ओली वरिष्ठ नेता माधवकुमार नेपालसहित भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथि गरिएको कारबाही फिर्ता लिन तयार भएका हुन् ।
नयाँ सरकार गठन, पार्टीभित्रको विवाद व्यवस्थापनलगायत विषयमा भएको छलफलमा यस्तो निर्णय भएको परराष्ट्रमन्त्री एवं एमाले नेता प्रदीप ज्ञवालीले जानकारी दिए ।
सोमबार प्रतिनिधिसभाको विशेष अधिवेशनमा प्रधानमन्त्री एवं सो पार्टीका अध्यक्ष ओलीका पक्षमा विश्वासको मत नपुगेपछि दुई वा दुई भन्दा बढी दलको समर्थनमा नयाँ सरकार गठनका लागि राष्ट्रपतिले आज राति ९ बजेसम्मका लागि समय तोकेकी थिइन् ।
एमालेभित्र असन्तुष्ट नेपालसहितका २८ सांसद संसद् बैठकमा अनुपस्थित भएपछि विवाद नयाँ मोडमा पुगेको थियो । नयाँ सरकार गठनमा विपक्षी गठबन्धनलाई मत सहयोग पुग्ने गरी नेपाल पक्षका सांसदले राजीनामा दिने तयारी गरेपछि एमाले शीर्ष नेतृत्व पार्टी एकताका लागि गम्भीर भएको हो ।

प्रतिक्रिया