पशुपति आर्यघाटमा दैनिक करिब दुई सय शव जलाउन थालियो

नेपालखोज २०७८ वैशाख ३० गते १९:३४

काठमाडौं । कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या बेढेसँगै पशुपति आर्यघाटमा पछिल्लो केहि दिनयता दैनिक करिब दुई सय शव जलाउने गरिएको छ ।

यसअघि विद्युतीय शवदाह गृहमा मात्रै संक्रमितको शव जलाउने गरिएकोमा मृतकको संख्या बढेसँगै बागमती किनारमा शव जलाउन थालिएको हो । कोरोना संक्रमितको शव जलाउने ठाउँ नभएकाले एउटै चितामा दुईवटा शव जलाउन मिल्ने १० वटा अस्थायी चिता थपिएको छ । पशुपति क्षेत्र विकास कोष विद्युतीय शवदाह गृहका प्रमुख सुवास कार्कीले शव जलाउन अहिले दाउराको खपत झण्डै चार गुणाले बढेको जानकारी दिए ।

उनकाअनुसार दैनिक २० हजार देखि ३२ हजार किलो सम्म दाउरा खपत हुने गरेको छ । गत फागुन महिना अघिसम्म दैनिक सरदर ९ हजार किलोसम्म दाउरा खपत हुने गरेको थियो । एउटा शव जलाउन दुई सय ५० किलो भन्दा बढी दाउरा खपत हुन्छ ।

विद्युतीय शवदाह गृहका प्रमुख कार्कीले आजको दिनसम्म शव जलाउन दाउराको समस्या नभएको बताए। कोषले शव जलाउन बारा, रौतहट, कैलाली, कञ्चनपुर लगायत देशका विभिन्न जिल्लाबाट साल, कटुस, जामुनजस्ता काठका दाउरा ल्याउने गरेको छ ।

प्रतिक्रिया