बिहीबार, चैत १५, २०८०

भारतमा स्पुतनिक-भी खोपको बिक्री सुरु

नेपालखोज २०७८ वैशाख ३१ गते १७:०२

हैदराबाद । भारतको औषधि नियामक निकायले कोभिड–१९ विरुद्धको रुसी स्पुतनिक भी खोप आपतकालीन प्रयोगका लागि अनुमति दिएसँगै भारतीय बजारमा बिक्री हुन थालेको छ ।

डा रेड्डीज ल्याबोरेटिजको कस्टम फर्मा सर्भिसेजका प्रमुख दीपक साप्राले भारतीय शहर हैदराबादस्थित रेड्डीजको एक औषधि पसलमा पहिलो खोप लगाएर कार्यक्रमको शुभारम्भ गरिएको छ ।

भारतमा डा रेड्डीज ल्याबोरेटिजले रुसी स्पुतनिक भी खोप आयात गरिरहेको छ । स्पुतनिक भी खोपलाई भारतीय औषधि नियामक निकायले गत मे १ तारिखमा स्वीकृति प्रदान गरेको थियो । डा रेड्डीजले भारतीय बजारमा उक्त खोपको मूल्य प्रति डोज भारु ९४८ तोकेको छ ।

कम्पनीले आगामी दिनमा खोपको संख्या अझ बढाउने जनाएको छ । स्पुतनिक भी खोप भारतमै उत्पादन हुन थालेपछि आपूर्ति पनि बढ्ने कम्पनीको भनाई छ । स्पुतनिक भी खोप भारतमा उत्पादन गर्न छ वटा विभिन्न कम्पनीसँग छलफल चलिरहेको बताइएको छ ।

डा रेड्डीज कम्पनीका सहअध्यक्ष एवं प्रवन्ध निर्देशक जी भी प्रसादले भारतमा कोभिड–१९ बाट संक्रमितको संख्या तिब्र रुपमा वृद्धि भइरहेकाले जतिसक्दो चाँडो खोप व्यवस्था गर्न आफूहरुले पनि प्रयास गर्न लागेको बताए ।

प्रतिक्रिया