विदेशी मुद्राको सञ्चिति १४ खर्ब ३३ अर्ब
काठमाडौ । विदेशी मुुद्राको सञ्चिती बढेको छ । नेपाल राष्ट्र बैंकको देशको बर्तमान आर्थिक तथा बित्तीय स्थिती सम्वन्धी पछिल्लो प्रतिवेदन अनुसार २०७७ असार मसान्तमा १४ खर्ब एक अर्ब ८४ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति दुुई दसमलव दुई प्रतिशतले बढेर २०७७ चैत मसान्तमा १४ खर्ब ३३ अर्ब २७ करोड रुपैयाँ पुगेको हो ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकोमा २०७७ चैत मसान्तमा दुुई दसमलव सात प्रतिशतले बढेर ११ अर्ब ९६ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चिति मध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७७ असार मसान्तमा १२ खर्ब २६ अर्ब १२ करोड रहेकोमा २०७७ चैत मसान्तमा दुुई दसमलव दुुई प्रतिशतले वृद्धि भई १२ खर्ब ५३ अर्ब १७ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था अर्थात नेपाल राष्ट्र बैंक बाहेकका संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति २०७७ असार मसान्तमा एक खर्ब ७५ अर्ब ७१ करोड रहेकोमा २०७७ चैत मसान्तमा दुुई दसमलव पाँच प्रतिशतले वृद्धि भई एक खर्ब ८० अर्ब १० करोड पुगेको छ ।
राष्ट्र बैंकका अनुसार २०७७ चैत मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४ दसमलव चार प्रतिशत रहेको छ । चालुु आर्थिक बर्षको पछिल्लो नौ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११ महिना नौ दिनको वस्तु आयात र १० महिना आठ दिनको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ, राष्ट्र बैंकले भनेको छ । समीक्षा अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३३ दसमलव छ प्रतिशत, ८९ दसमल नौ प्रतिशत र २९ दसमलव सात प्रतिशत रहेकाछन । राष्ट्र बैंकका अनुसार २०७७ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३५ दसमलव आठ प्रतिशत, एक सय पाँच दसमलव सात प्रतिशत र ३३ दसमलव एक प्रतिशत रहेका थिए ।
अन्तर्राष्ट्रिय बजारमा २०७६ चैत मसान्तमा प्रति ब्यारल अमेरिकी डलर २०.२३ रहेको कच्चा पेट्रोलियमको मूल्य २०७७ चैत मसान्तमा दुुई सय १० दसमलव छ प्रतिशतले वृद्धि भई अमेरिकी डलर ६२.८३ पुगेको छ । त्यसैगरी, अन्तर्राष्ट्रिय बजारमा २०७६ चैत मसान्तमा प्रति आउन्स सुनको मूल्य अमेरिकी डलर १६८०.६५ रहेकोमा २०७७ चैत मसान्तमा चार प्रतिशतले वृद्धि भई अमेरिकी डलर १७४७.९५ पुगेको छ । राष्ट्र बैंकका अनुसार २०७७ असार मसान्तको तुलनामा २०७७ चैत मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ शुन्य दसमलव पाँच प्रतिशतले अधिमूल्यन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ १० दसमलव दुुई प्रतिशतले अवमूल्यन भएको थियो । राष्ट्र बैंकका अनुसार २०७७ चैत मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर एक सय १९ रुपैंयाँ ८० पैसा पुगेको छ । २०७७ असार मसान्तमा उक्त विनिमय दर एक सय २० रुपैंयाँ ३७ पैसा रहेको थियो, राष्ट्र बैंकले भनेको छ ।

प्रतिक्रिया