मंगलबार, वैशाख ११, २०८१

प्रदीप रोदनको ‘मफलर’ सार्वजनिक

नेपालखोज २०७९ असोज ९ गते ९:०१

काठमाडौं । गजलकार प्रदीप रोदनको पहिलो गजलकृति ‘मफलर’ लोकार्पण गरिएको छ । काठमाडौं को प्रज्ञा–प्रतिष्ठान डबलीमा शनिबार आयोजित एक कार्यक्रममा साहित्यकार अमर न्यौपाने र लेखक रोदनले पुस्तक सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा साहित्यकार न्यौपानेले रोदनको यो कृति गजलको रदिफ र काफिया मिलाइएको गजलसङ्ग्रह मात्र नभएर, मन्त्रहरूको सङ्ग्रह रहेको बताए । ‘जीवनलाई मथेर निकालिएको नौनी हो मफलर,’ उनले भने, ‘खारिएका पवित्र वाक्य यस सङ्ग्रहमा छन् । धेरै पुस्तक बोरामा थन्काउनुपर्ने हुन्छ । केही पुस्तक बुककेसमा सजाएर राखिन्छ । केही पुस्तक आफूले पढ्ने टेबलमा राखिन्छ । केही किताब यस्ता पनि हुन्छन्, जो सिरानीमुनि राखिन्छ । यो त्यसैगरी सिरानीमुनि राख्ने कृति हो ।’

‘मफलरमा जीवन र हृदयको यस्तो ध्वनि छ, जहाँ अध्यात्म, व्यवहार र दर्शन मिसिएको छ,’ साहित्यकार न्यौपानेले थप्नुभयो । यस्तै कार्यक्रममा लेखक रोदनले गजल लेख्दा आफूले कैयौं पटक आफ्नै हृदय छामेको र सेरहरूको धड्कन महसुस गरेको बताए ।

‘केही नबन्दा अरु केही बन्दो रहेछ । यसरी सेरहरूको माया क्षेत्र हृदयको गहिराइसम्म पुग्यो र गजल बने । जहाँ गजल बनेनन्, त्यहाँ फर्दहरू बने,’ उनले भने, ‘थाहा छैन, यी गजलले तपाईंको जीवनमा सौन्दर्य थप्छन् या थप्दैनन् । यी गजल मैले सृष्टि गरेका बचेराहरू हुन् । आजसम्म आफ्नै पखेटामुनिको न्यानोमा हुर्काएँ । अब यी गजलका आफ्नै पखेटा पलाए होलान् भनेर तपाईंहरूकै संसारमा उडान भर्न पठाएको छु ।’

उनले वि.स. २०७३ सालमा ‘लोकप्रिय गजलकार अवार्ड’, २०७५ सालमा ‘उत्कृष्ट युवा प्रतिभा पुरस्कार’ र २०७९ सालमा ‘साताको साहित्य पुरस्कार’ पाइसकेका छन् ।

प्रतिक्रिया