सोमबार, वैशाख १५, २०८२

सरकार भन्छ- २५ लाख डोज कोरोना भाइरसविरुद्धको खोप लगाइसकियो

नेपालखोज २०७८ जेठ १ गते १६:४५

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समीरकुमार अधिकारीले नेपालमा २५ लाख डोज कोरोना भाइरसविरुद्धको खोप लगाइसकिएको बताएका छन् । सह-प्रवक्ता अधिकारीले नेपालमा करिब २५ लाख जनसंख्याले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेको बताए । खोप लगाउने क्रम जारी रहेको पनि उनको भनाइ छ ।

नेपालमा हालसम्म ३२ लाख ४८ हजार मात्रा खोप आइसकेको पनि उनले बताए । उनले हालसम्म भारत सरकारले उपहारस्वरुप दिएको कोभिसिल्ड खोप १० लाख डोज, भारत सरकारसँग खरिद गरिएको कोभिशिल्ड खोप १० लाख डोज, कोभ्याक्स सुविधाअन्तर्गत तीन लाख ४८ हजार डोज प्राप्त भएको र नेपाली सेनालाई एक लाख डोज प्राप्त भएको गरी २४ लाख ४८ हजार डोज कोभिसिल्ड खोप प्राप्त भएको उनले जानकारी दिए ।

त्यस्तै चीनबाट ८ लाख डोज भेरोसेल खोप प्राप्त भई जम्मा ३२ लाख ४८ डोज खोप प्राप्त भएको उनको भनाइ छ । त्यसमध्ये २५ लाख डोज खोप लगाईसकिएको र बाँकी रहेको खोप लगाउने क्रम जारी रहेको डा. अधिकारीले बताए ।

७ लाखको हाराहारीमा खोप मौज्दात रहेको भए पनि भेरोसेल खोप लगाउन सुरु गरिएको उनको भनाइ छ । भारतसँग २० लाख डोज खोप खरिद गरेको भए पनि १० लाख मात्रै आएको र १० लाख डोज आउन बाँकी रहेको उनले जानकारी दिए । यद्यपि भारतसँग छलफल भइरहेको र छिट्टै खोपहरु आउने उनको भनाइ छ ।

स्पुतनिक भी खोपलगायत अन्य खोपहरु ल्याउने सम्बन्धमा समन्वय तथा कुराकानीहरु भइरहेको पनि बताए ।

पीसीआर परीक्षण

कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन बढिरहेको सम्बन्धमा देशभरि ९० वटा प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको उनले जानकारी दिए । अहिले एन्टिजेन परीक्षणमा पोजेटिभ देखिएका र कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुको पीसीआर परीक्षण भइरहेको छ । पीसीआरको दायरा बढाउन सरकारको तयारी रहेको पनि सह-प्रवक्ता अधिकारी बताए ।

अहिले निजी तथा सरकारी प्रयोगशालाहरुबाट परिक्षण भइरहेको छ । एन्टिजेन परीक्षण भने मुख्य गरी नेपाल-भारत सीमामा भारतबाट नेपाल भित्रिने नेपालीहरुमा गरिएको छ ।

स्वास्थ्य सामाग्रीको अवस्था

यस्तै सह-प्रवक्ता अधिकारीले अस्पताल तथा प्रयोगशालाहरुलाई आवश्यक स्वास्थ्य सामाग्रीहरु तीन महिनालाई पुग्ने मौज्दात रहेको बताए । संक्रमणको दर बढ्दै जाँदा मौज्दातमा असर पर्ने भएकोले आवश्यक स्वास्थ्य सामाग्रीहरु ल्याउन पनि स्वास्थ्य मन्त्रालयले विभिन्न निकायसँग छलफल गरिरहेको बताए ।

अहिले आवश्यक पर्ने परिक्षणका सामग्री, उपचारका सामग्री र अन्य आवश्यक सामग्रीहरुको सहयोगका लागि विभिन्न निकायमा, दाताहरुसँग पत्राचार गरिएको बताए ।

प्रतिक्रिया