कोरोना संक्रमणबाट पत्रकार कार्कीको मृत्यु

नेपालखोज २०७८ जेठ २ गते ९:३८

काठमाडौं । नेपाल पत्रकार महासङ्घ च्यानल नेपाल प्रतिष्ठान शाखाका अध्यक्ष शान्तिराम कार्कीको मृत्यु भएको छ । कोरोना सङ्क्रमणका कारण काठमाडौँको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचारत कार्कीको हिजो बेलुुकी मृत्यु भएको हो ।

३४ वर्षका उनलाई गत वैशाख १९ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । स्वास्थ्यमा थप समस्या आएपछि वैशाख २३ गतेदेखि उनलाई भेन्टिलेटरमा राखी उपचार सुुरु गरिएको थियो ।

झापा निवासी कार्की विगत डेढ दशकदेखि काठमाडौँमा रही पत्रकारितामा सक्रिय थिए । जनता टाइम्स डटकमका सम्पादक कार्की प्रेस चौतारी नेपालको केन्द्रीय सदस्य थिए । उनले सौर्य दैनिकमा सहसम्पादकको जिम्मेवारी वहन गरेका थिए ।

यसैबीच, प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले कार्कीको निधनबाट स्तब्ध भएको उल्लेख गर्दै श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

यस्तै, नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरीले विज्ञप्ति जारी गरी स्वर्गीय पत्रकार कार्कीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना गरेका छन् ।

प्रतिक्रिया