प्रधानमन्त्रीद्वारा मदन-आश्रितप्रति श्रद्धाञ्जलि

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान जननेता मदन भण्डारी र कुशल सङ्गठक जीवराज आश्रितप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।
नेकपा (एमाले) का अध्यक्ष ओलीले आज २८ औँ मदन-आश्रित स्मृति दिवसका अवसरमा एमाले पुरानो पार्टी मुख्यालयमा पुगेर जबजका प्रणेता भण्डारीका शालिक र आश्रितका तस्वीरमा माल्यार्पण गरे ।
उपप्रधानमन्त्री तथा पार्टी महासचिव ईश्वर पोखरेल, पार्टी नेता वामदेव गौतम, घनश्याम भुसाल, सुवास नेम्बाङ, गृहमन्त्री रामबहादुर थापालगायत नेताले एमालेका तत्कालीन महासचिव भण्डारी र सङ्गठन विभाग प्रमुख आश्रितप्रति पनि श्रद्धाञ्जलि व्यक्त गरे ।
स्मृति दिवसको दिन हरेक वर्ष दलले मदननगर बल्खुमा कार्यक्रम गर्दै आए पनि यसपटक कोरोना भाइरसका कारण पार्टीका शीर्ष नेता मात्र उपस्थित भई भण्डारी-आश्रितप्रति श्रद्धाञ्जलि व्यक्त गरिएको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
नेता भण्डारी र आश्रितको २०५० सालमा आजकै पोखराबाट चितवनतर्फ जान लाग्दा दासढुङ्गा भन्ने ठाउँमा गाडी दुर्घटना हुँदा निधन भएको थियो ।

प्रतिक्रिया