नेता श्रेष्ठ भन्छन्-अझै कम्युनिष्ट पार्टीहरुबीच एकता आवश्यक छ

नेपालखोज २०७८ जेठ ३ गते १५:५०

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले अझैपनि कम्युनिष्ट पार्टीहरुबीचको एकता आवश्यक रहेको बताएका छन् । उनले नेपाली क्रान्तिलाई अगाडी बढाउन र समाजवाद स्थापना गरी कम्युनिष्ट आन्दोलनलाई विश्व साम्यवादको दिशातिर लैजाने उद्देश्य प्राप्तिका लागि कम्युनिष्ट पार्टीहरुको एकता आवश्यक रहेको बताए ।

विगतमा नेकपा (एमाले) र नेकपा(माओवादी केन्द्र) केन्द्रले राजनीतिक परिवर्तनको रक्षा गरी राष्ट्रिय स्वाधिनता सुदृढ गर्ने, सामाजिक-आर्थिक रुपान्तरण गर्ने र समाजवाद स्थापना गर्ने लक्ष्य साथ पार्टी एकिकरण गरिएको भएपनि देशी विदेशी शक्तिहरुको योजनामा पार्टी फुटाइएको नेता श्रेष्ठको भनाई छ ।

पार्टी एकताको उद्देश्य, लक्ष्य, मर्म र भावना पार्टी पंक्तिमा पु¥याउन नसक्नुपनि कमजोरी भएको उनले बताए । कम्युनिष्ट पार्टीको उद्देश्य प्राप्तिका लागि पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने उनको भनाई छ ।

उनले भने,‘हाम्रो उद्देश्यलाई कायमै राख्नुपर्छ । पार्टी एकता एकचोटी विदेशी र देशभित्रका पार्टी एकताको मर्म नबुझ्ने र जनताप्रति गम्भिर रुप र इमान्दार नहुने प्रवृत्तिले पार्टी एकतालाई भाँजो हाल्यो, पार्टी एकतालाई विभाजनमा पुर्यायाे, प्रतिगमनको दिशातिर देशलाई लग्यो भनेर अब कम्युनिष्टहरुको एकता काम नलाग्दो रहेछ भन्ने सोच्नु गलत हुन्छ ।

अब हामिले फेरी कम्युनिष्टहरुलाई कसरी एकताबद्ध गर्ने ? तर वैचारिक राजनीतिक कार्यदिशालाई सहि ढंगले प्रष्ट पारेर, सांस्कृतिक रुपान्तरणको अभियान पनि कम्युनिष्ट आन्दोलनमा अगाडी बढाएर जानुपर्छ ।’

नेता श्रेष्ठले पहिले आफ्नो पार्टीलाई नै रुपान्तरण गर्नुपर्ने अवस्था रहेको पनि औल्याए । विगतमा पार्टी एकता गर्नु गल्ती तथा कमीकमजोरी नभएपनि समयमै विभिन्न विषयमा ध्यान दिन नसक्नु कमजोरी भएको र कमजोरी सच्याउन खोज्दा पार्टी विभाजन गरिएको उनको भनाई छ । यद्यपी कम्युनिष्ट पार्टीहरुबीचको एकिकरण गर्न आफुहरुले हिम्मत नहार्ने उनले बताए ।

उनले भने, ‘कमजोरी सच्याउने प्रयत्न गर्दा विदेशी र यहाँभित्रको प्रतिगामी शक्तिका कारण नकारात्मक चुनौतीको सामना गर्नुपरेको छ । तर हामि हिम्मत हार्दैनौँ । कम्युनिष्टहरुले हिम्मत हार्नु हुँदैन ।’

नेकपा (माओवादी केन्द्र) ले आफुलाई सांस्कृतिक रुपान्तरण गर्दै कम्युनिष्ट, क्रान्तिकारीहरुसँग एकता गर्ने र अन्य लोकतान्त्रिक, देशभक्त शक्तिहरुसँग पनि संयुक्त मोर्चा गरेर अघि बढ्नेबारे सोचेको नेता श्रेष्ठले बताए ।

प्रतिक्रिया