निषेधाज्ञा उल्लंघन गरी हिँड्ने ७,३१७ जनालाई सम्झाइ-बुझाइ छाडियाे

नेपालखोज २०७८ जेठ ३ गते १८:५२


काठमाडाैं । विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो चाैबीस घण्टामा निषेधाज्ञा उल्लंघन गरी हिँड्ने ७ हजार ३ सय १७ जनालाई होल्डमा राखी सम्झाई बुझाई छाडिएको छ ।

सो क्रममा ९ सय ७१ वटा गाडी र २ हजार २ सय २३ वटा मोटरसाइकल गरी ३ हजार १ सय ९४ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

साथै नयाँ भेरियन्ट सहितको कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो चाैबीस घण्टामा १ हजार ४ सय ६५ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ ।

कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालयद्वारा तोकिएको मापदण्ड उल्लंघन गर्ने ३ सय ६० जनालाई संक्रामक रोग ऐन, २०२० बमोजिम जरिवाना गरिएको छ ।

साथै देशभर माईकिङ तथा सचेतनामूलक कार्यक्रम अन्तर्गत २० हजार ५ सय ५१ जनालाई सचेत गराईएको छ । निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालाहरुसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तिब्रता दिएको छ ।

प्रतिक्रिया