उपचारमा ढिलाइ भएको भन्दै चिकित्सकसहित चार जना स्वास्थ्यकर्मी माथि कुटपिट

नेपालखोज २०७८ जेठ ४ गते १३:३५

मोरङ । मोरङको बूढीगङ्गा गाउँपालिकास्थित विराट मेडिकल शिक्षण अस्पतालका दुई चिकित्सकसहित चार जना स्वास्थ्यकर्मी माथि कुटपिट भएकाे छ । सोमबार राति आठ बजे विराटको आकस्मिक कक्षमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीमाथि चार जनाको समूहले कुटपिट गरेको छ ।

कुटपिटमा संलग्न बूढीगङ्गा-२ का २८ वर्षीय निश्चल श्रेष्ठ र २५ वर्षीय अनिल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । अन्य दुई जना फरार रहेको मोरङ प्रहरी प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए । उनका अनुसार सोमबार राति नै उनीहरू दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

सोमबार राति पेट दुखेर बूढीगङ्गा-२ की ७३ वर्षीया वृद्धा गोमादेवी श्रेष्ठ उपचारका लागि भर्ना भएकी थिइन् । उनलाई अस्पताल लिएर आएका निश्चल र अनिलले चिकित्सकलाई गालीगलौच गर्दै कुटपिट गरेको अस्पतालका संयोजक सुनिल देवले बताए ।

गोमादेवीको उपचारमा ढिलाइ भएको भन्दै उनीहरूले आकस्मिक कक्षमा छिरेर चिकित्सक डा. सुदीप रेग्मी र हेल्थ असिस्टेन्ट निर्दोष बस्नेतमाथि आक्रमण गरेको देवको भनाइ छ ।

प्रतिक्रिया