आइतबार, असार २२, २०८२

ओली सरकारले पूर्ण बजेट ल्याउन मिल्दैन : महत

नेपालखोज २०७८ जेठ ४ गते १४:२०

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री डा. रामशरण महतले वर्तमान सरकारले पूर्ण बजेट ल्याउन नमिल्ने बताएका छन् ।

उनले सरकारले विश्वासको मत प्राप्त गरिनसकेकाले पूर्ण बजेट ल्याउन नमिल्ने बताएका हुन् । वार्षिक बजेट ल्याउनका लागि सरकारले विश्वासको मत प्राप्त गरेको हुनुपर्ने उनको भनाइ छ । ‘फुल फेज वार्षिक बजेटका लागि विश्वासको मत प्राप्त गरेको सरकारले ल्याउनुपर्छ । वर्तमान सरकार नै अनिश्चित छ । ३० दिनभित्र विश्वासको मत प्राप्त गर्नु वर्तमान सरकारलाई बाध्यता छ,’ उनले भने, ‘चाँडै यसले विश्वासको मत प्राप्त गरेर फुल फेज बजेटको घोषणा गर्नु उचित हुन्थ्यो । विश्वासको मत नलिईकन आगामी आर्थिक वर्षका लागि पूर्ण बजेट ल्याउनु मेरो विचारमा उचित हुँदैन ।’

सरकारले विश्वासको मत प्राप्त नगरी बजेट ल्याउनुपर्ने अवस्थामा काम चलाऊ बजेट ल्याउनुपर्ने डा. महतले बताए । बजेट विधिपूर्वक ल्याउनुपर्ने र बजेटअघिको प्रि-बजेट छलफल पनि जरुरी रहेको उनले बताए । ‘विधिपूर्वक प्रि-बजेटबारे छलफल हुनु जरुरी छ । संसद्‌मा राष्ट्रपतिको नीति, कार्यक्रम भाषण हुनुपर्छ । त्यसका आधारमा संसद्‌मा पेस गरेर छलफल गरेपछि निर्णय गर्ने हो । त्यस्तो अवस्था अहिले छैन,’ उनले भने, ‘त्यसकारण विश्वासको मत प्राप्त गरेरै घोषणा गरेको भए उचित हुन्थ्यो । विश्वासको मत नलिईकन बजेट पेस गर्नुपर्ने अवस्था आयो भने अन्तरिक बजेट/काम चालउ बजेट पेस गर्ने हो । राजस्वसम्बन्धी, करका दर तलमाथि गर्ने पनि होइन, कार्यक्रमहरु पनि तलमाथि गर्ने होइन, चालु कार्यक्रमहरुलाई निरन्तरता दिने गर्नुपर्छ ।’

विगतमा पनि सरकारले अन्तरिम बजेट ल्याएको स्मरण गर्दै उनले अन्य राजनीतिक पार्टीहरुसँग पनि छलफल गरेर अन्तरिम/कामचलाऊ बजेट ल्याउनुपर्ने उनले बताए ।

प्रतिक्रिया