प्रधानमन्त्रीको शपथविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

नेपालखोज २०७८ जेठ ४ गते १४:४८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको शपथविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले अन्तरिम आदेश जारी नहुने निर्णय गरेको छ । मंगलवार रिटमाथि भएको सुनुवाइपछि जारी आदेश अनुसार रिटलाई अग्राधिकार दिइनेछ । प्रधानमन्त्री ओलीले ‘प्रतिज्ञा गर्छु’ नभनेर ‘त्यो पर्दैन’ भनेपछि शपथविरुद्ध रिट परेको थियो ।

वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली, अधिवक्ता लोकेन्द्र वलीलगायतले सर्वोच्चमा रिट दर्ता गरेका थिए । रिटमा प्रधानमन्त्रीले पुनः शपथ लिन र सांसद नरहेका ७ मन्त्रीलाई काम गर्न रोक्न माग दाबी गरिएको छ । माओवादी छाडेर एमाले प्रवेश गरेका ७ जना गैर सांसद मन्त्रीले दोस्रो पटक शपथ लिएका थिए ।

त्यस्तै, शपथसम्बन्धी रिटमा भने सर्वोच्चले राष्ट्रपति कार्यालय र प्रधानमन्त्रीसँग लिखित जवाफ माग गरेको छ । सोमबार रिटमाथि सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, प्रधानमन्त्री ओलीसहितका विपक्षीसँग लिखित जवाफ माग गरेको हो ।

प्रतिक्रिया