त्रिविका तीन पूर्वविभागीय प्रमुखले भने- गलत बुझाइका कारण भ्रम सिर्जना भयो

काठमाडौं । त्रिभुवन विश्व विद्यालय समाजशास्त्र तथा मानवशास्त्र केन्द्रीय विभागका तीन जना संस्थापक प्राध्यापक तथा पूर्व विभागीय प्रमुखले गएको बैशाख २८ गते जारी गरेको प्रेस विज्ञप्तीप्रति अर्थशास्त्र विभागका विद्यार्थी समाज एवं समाजशास्त्र विभागका विद्यार्थी फ्रन्टलगायत पाठकहरुको ध्यानाकर्षण भएकोमा खुशी लागेको उल्लेख गरेका छन् ।
मंगलबार एउटा संयुक्त स्पष्टीकरण जारी गर्दै प्रा.डा. ओम गुरुङ, प्रा.डा. रामबहादुर क्षेत्री तथा प्रा.डा. पदमलाल देवकोटाले आफूहरुले केही दिनअघि जारी गरेको प्रेस विज्ञप्तिप्रति विद्यार्थी समाज, विद्यार्थी फ्रन्ट र विभिन्न पाठकवर्गको फरक धारणा र फरक बुझाई रहेको भएपनि आफूहरुको विज्ञप्तिकै कारण अहिलेसम्म छायाँमा परेको मानवशास्त्र केन्द्रीय विभागका विभागीय प्रमुख डम्बर चेम्जोङ्गमाथि सोहि विभागका पूर्व महिला कर्मचारीले लगाएको यौन दुर्व्यवहारको आरोप सार्वजनिक रुपमा सतहमा आएको र उक्त आरोपप्रति सर्वपक्षीय चासो बढेको तथा यसलाई आफूहरुले सकारात्मक रुपमा लिएको उल्लेख गरको छन् ।
उनिहरुले आफूहरुले जारी गरेको विज्ञप्तिको आशय कदापी गलत नभएको तर आफूहरुले जारी गरेको विज्ञप्तिमा अभिव्यक्त विचार र भावनालाई विद्यार्थी समाज र शिक्षित पाठकवर्गले सही ढङ्गले ग्रहण गर्न नसक्दा त्यसले अन्य पाठकवर्गबीच विवाद र भ्रम सृजना गरेको भन्दै त्यसप्रति क्षमायाचना पनि गरेका छन् ।
तीनै जना प्राध्यापकहरुले हस्ताक्षर गरेको स्पष्टीकरणमा भनिएको छ–‘अर्थशास्त्र विद्यार्थी समाज र समाजशास्त्र विद्यार्थी फ्रन्टले हामीलाई पूर्व विभागीय प्रमुखहरुले अँध्यारो कोठाबाट प्रेस विज्ञप्ति जारी गरी अमूक संस्थाको प्रतिष्ठा जोगाउने नाममा मेलमिलापको बाटोबाट यौन दुर्व्यहारको आरोपितलाई चोख्याउन खोजेको र पीडित महिलाको न्यायप्रति कुनै ध्यान नदिएको दोषारोपण गरेका छन् । तर, प्रेस विज्ञप्तिको हाम्रो आशय त्यस्तो कदापी होइन । हामीले जारी गरेको विज्ञप्तिको खास उद्देश्य विभागको प्रमुखलाई कर्मचारीबाट लागेका यस्ता गम्भीर आरोपका प्रकृति र सत्य तथ्य के–के रहेछन् भन्नेबारे छानबिन गरी आपसमै मिलाउन सकिने अवस्था रहेछ भने मिलाउदा व्यक्ति र संस्था दुबैको हित हुन्छ भन्ने ठानेर प्रेस विज्ञप्तिमार्फत पहल गरेका हौं, जुन पहल गर्नु हाम्रो नैतिक दायित्व पनि हो ।’
‘२०३८ सालमा ५ जना शिक्षक र ५४ जना विद्यार्थी तथा १ जना कर्मचारीबाट सुरु गरिएको विभागलाई अहिलेको अवस्थामा ल्याउन हामीले निकै ठुलो लगानी गरेका छौं, स्पष्टीकरणमा भनिएको छ–‘ त्यसैले हामी त्रिवि सेवाबाट निवृित्तभरण भएपछि पनि विभागसंग हाम्रो गहिरो नैतिक, भौतिक र भावनात्मक सम्बन्ध जोडिएको छ । त्यसकारण विभागमा घट्ने यस्ता अप्रिय र गम्भीर घटनाहरुको हामी मूकदर्शक मात्र बनेर बस्न सक्दैनौं । हाम्रो प्रेस विज्ञप्तिको आशय र उद्देश्य दोषीलाई चोख्याउने र पीडितलाई झन् पीडा दिने अवश्य होइन । तर, हाम्रो प्रेस विज्ञप्तिमा अभिव्यक्त विचार र भावनालाई विद्यार्थी समाज र शिक्षित पाठकवर्गले सही ढङ्गले ग्रहण गर्न नसक्दा त्यसले अन्य पाठकवर्गबीच विवाद र भ्रम सृर्जना गरेको छ । त्यसको लागि हामी क्षमा चाहन्छौ ।’

प्रतिक्रिया