उपेन्द्र यादवले भने- पार्टीभित्र गुटबन्दी तथा अराजक क्रियाकलाप नगरौं

नेपालखोज २०७८ जेठ ४ गते १६:५३

काठमाडाैं । जनाता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले गुट-उपगुट खडा तथा पार्टीभित्र गुटबन्दी तथा अराजक क्रियाकलाप गर्नु पार्टी विपरित रहेको बताएका छन् ।

उनले आ-आफ्नो पक्ष खडा गरी सञ्चार माध्ययमहरूमा समेत दिइएका गैर-राजनीतिक, गैर-जिम्मेवार अभिव्यक्तिहरूप्रति आफ्नो ध्यानाकर्षण भएको बताएका छन् । अध्यक्ष यादवले सामाजिक सञ्चाल फेसबुक मार्फत बुँदागत रूपमा उल्लेख गर्दै यस्ता कृयाकलाप बन्द गर्नुपर्ने बताएका हुन् ।

उनले जसपा संघीयता, लोकतान्त्रिक गणतन्त्र, सहितको लक्ष्य प्राप्तिका लागि मुलुकमा नयाँ बैकल्पिक लोकतान्त्रिक राजनीतिक शक्ति निर्माणको प्रक्रियामा रहेको बताएका छन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त गर्न राखेको प्रस्तावमाथि आ-आफ्नो स्वविवेक प्रयोग गर्दै प्रस्तावको विरूद्ध मत दिने वा तटस्थ बस्ने अवसर प्रदान गरिएकाे तर यसको दुरुपयोग भएको बताएका हुन् ।

उनले पार्टीका केही नेतृत्वहरूबाट नै गुट-उपगुट खडा गर्ने पार्टीभित्र गुटबन्दी गरी अराजक क्रियाकलाप गर्दै आ-आफ्नो पक्ष खडा गरी सञ्चार माध्ययमहरूमा समेत दिइएका गैर-राजनीतिक, गतिविधिहरू पार्टी एकता, अनुशासन, आचार संहिता एवम् पार्टी कार्यपद्धतीका प्रतिकुल रहेको बताएका छन् । उनले यस्ता कार्य तत्काल बन्द गर्नुपर्ने पनि बताएका हुन् ।

उनले पार्टी एकतालाई अझ सुदृढ गरी यसलाई बलियो बनाउन सम्पूर्ण पार्टी नेतृत्व वर्ग, पार्टी सदस्यहरूमा अनुरोध पनि गरेका छन् ।

प्रतिक्रिया