‘उपचुनावमा आफ्नै पार्टीकाले भोट नदिने कल्पनासमेत छैन’

काठमाडाैं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभाको उपचुनावमा पार्टीका आधिकारिक उम्मेदवारलाई आफ्नै पार्टीका व्यक्तिले भोट नदिने कुरा कल्पनासमेत नगरिएको बताएका छन् ।
आज (बुधवार) पार्टीका नेता तथा कार्यकर्ताको नाममा अपिल पत्र जारी गर्दै प्रधानमन्त्री ओलीले पार्टीले आधिकारिक उम्मेदवारकाे रूपमा रामबहादुर थापा बादललाई अघि सारेकाले पार्टीका आधिकारिक उम्मेदरवारविरुद्ध उम्मेदवारी दिनु, निर्वाचन चिह्नलाई अवमूल्यन गर्नु र पार्टी निर्णयको विपक्षमा मत खसाउने विषय कल्पनाबाहिरको विषय भएको बताएका हुन् ।
पार्टीले उम्मेदवार बनाएका रामबहादुर थापा नेपाली कम्युनिस्ट आन्दोलनको वरिष्ठ नेता भएको र उनको विजयले कम्युनिस्ट आन्दोलनको भावनात्मक एकतालाई थप बल पुर्याउने ओलीको दाबी छ । एमाले र माओवादीबीचको एकता केही अवसरवादीका कारण असफल भएको अवस्थामा नेकपाको विरासत एमालेले बोक्ने भएकाले पनि रामबहादुर थापालाई जिताउनु पर्ने ओलीले बताए ।
वाग्मती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्यका लागि बिहीबार चुनाव हुँदै छ । चुनावमा प्रदेशसभा सदस्य र पालिका अध्यक्ष तथा उपाध्यक्षले मत दिन पाउनेछन् ।


प्रतिक्रिया