नयाँ भेरियन्टको कोरोना पहिलेको भन्दा खतरनाक, जोखिममा ४० वर्षमाथिका (भिडियाेसहित)

नेपालखोज २०७८ जेठ ५ गते १८:१८


काठमाडाैं । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कोभिड- १९ को तेस्रो भेरियन्ट निकै संक्रामक रहेको बताएको छ । नेपालमा गत साता कोभिड-१९ संक्रमितको ३५ वटा नमुनालाई जिन स्क्विन्सिग गर्दा ९७ प्रतिशतमा (३४ वटा) बि. १. ६१७.२ नयाँ भेरियन्ट र तीन प्रतिशतमा (१ वटा) बी.१. ६१७. १ पुष्टि भएसँगै नेपालमा कोभिड -१९ को तेस्रो भेरियन्ट रहेको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि मंगलबार एक विज्ञप्ति निकाल्दै नेपालमा तेस्रो भेरियन्ट रहेको बारे जानकारी गराइसकेको छ । यस सन्दर्भमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले तेस्रो भेरियन्ट यसअघि देखा परेको भेरियन्ट भन्दा ५० प्रतिशत बढी संक्रामक रहेको बताएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. कृष्ण पौडेलले सुरुमा बेलायतमा पत्ता लागेको भेरियन्टभन्दा यो ४० देखि ५० प्रतिशत बढी संक्रामक रहेको बताए । यो भेरियन्ट २० देखि ४४ वर्ष उमेर समूहमा उच्च संक्रमण रहेको पनि उनले जानकारी दिए ।

उनेले भने, ‘प्रारम्भिक अध्ययनहरुले यो सर्ने दर अन्य भेरियन्टभन्दा उच्च छ भन्ने देखियो । जुन अप्रत्यक्ष रुपमा नेपालमा संक्रमण बढेको दर, भारतमा बढेको दरले पनि अप्रत्यक्ष रुपमा हामि एउटा निष्कर्षमा पुग्न सक्छौँ यो अलि बढी संक्रामक छ भनेर । केही अध्ययनहरुमा, बेलायतको मेडिकल जर्नलमा ब्लगमा उहाँहरुले लेखेको अनुसार बेलायतमा पत्ता लागेको भेरियन्टभन्दा यो भेरियन्ट अझै ४० देखि ५० प्रतिशत बढी संक्रामक छ है भनेर आकलन गरिएको छ ।

उमेर समूह हेर्ने हो भने २० देखि ४४ वर्ष समूहमा उच्च दरमा संक्रमण छ । संक्रमणको मुख्य हिस्सा यो उमेर समूहमा छ । यसले उमेर समूहको हिसाबले बलिया मानिएका उमेर समूहमा पनि बढी नै असर गर्छ । जटिलता ल्याउँछ । कुनै पनि उमेरलाई यसले छोड्दैन भन्ने अप्रत्यक्ष रुपमा देखिन्छ ।’

डा. पौडेलले हाल कोभिड विरुद्धमा लगाइरहेको कोभिसिल्ड खोपले तुलनात्मक रुपमा यस भेरियन्टको जटिलता कम गर्न र मृत्युदर कम गराउन प्रभावकारी हुने पनि बताए । उनले भने, ‘कोभिशिल्ड खोप तुलनात्मक हिसाबले यो भेरियन्टमा पनि जटिलता कम गर्न र मृत्युदर कम गराउन सहयोगी/प्रभावकारी छ भन्ने बुझिन्छ । खोपको प्रभावकारिता राम्रै देखिएको छ ।’

उनले सामाजिक दूरी कायम गर्ने, मास्कको प्रयोग गर्ने तथा सरसफाइलगायत जनस्वास्थ्यको मापदण्ड पालना गरेर मात्रै कोभिड-१९ को तेस्रो भेरियन्टबाट बच्न सकिने भन्दै जनस्वास्थ्यको मापदण्ड कडाइसाथ पालना गर्नुपर्ने पनि बताए ।

प्रतिक्रिया