‘प्रधानमन्त्री ओलीले निर्वाचन आचारसंहिता उल्लङ्घन गरे’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभा चुनावमा रामबहादुर थापालाई विजयी बनाउन मतदातालाई गरेको अपिलले निर्वाचन आचारसंहिता उल्लङ्घन भएको बताएका छन् ।
प्रचण्डले स्वतन्त्र, स्वच्छ र मर्यादित चुनाव सम्पन्न गर्नु सरकारको दायित्व भएको र यस विपरीत सरकार प्रमुखले नै उम्मेदवारलाई विजयी गराउन मतदातालाई अपिल गरेर निर्वाचनमा प्रभाव पार्नु, स्वच्छ, निष्पक्ष र भयरहित चुनावको आधारभूत सिद्धान्तको विरुद्ध रहेको बताए ।
‘मौन अवधिमा सार्वजनिक वक्तव्यमार्फत अमुक उम्मेदवारलाई विजयी गराउन आग्रह गर्दै मतदातालाई दिएको धम्कीले आचारसंहिताको गम्भीर उलङ्घन भएको छ । यस्तो स्थितिमा हुने चुनाव स्वच्छ र निष्पक्ष हुने कसरी अपेक्षा गर्न सकिन्छ ? प्रधानमन्त्रीको यस कार्यको निन्दा र भर्त्सना गर्दै आवश्यक कारबाहीका लागि निर्वाचन आयोग समक्ष आग्रह गर्दछु’, विज्ञप्तिमा भनिएको छ ।
साथै प्रचण्डले निर्वाचन आयोग, राजनैतिक पार्टी, निर्वाचन पर्यवेक्षक, नागरिक समाज, पत्रकार तथा आम जनसमुदायमा यस प्रकारको अलोकतान्त्रिक हर्कतप्रति चनाखो हुँदै लोकतान्त्रिक मूल्य र मान्यताको रक्षाका निम्ति एकजुट हुन अपिल गरेका छन् ।

प्रतिक्रिया