मंगलबार, वैशाख १६, २०८२

राष्ट्रियसभा उपनिर्वाचन : नतिजा जुममार्फत आजै सार्वजनिक गरिने

नेपालखोज २०७८ जेठ ६ गते ७:३२

काठमाडौं । आज मतदान हुन लागेको राष्ट्रियसभा उपनिर्वाचनको नतिजा भर्चुअल माध्यमबाट सार्वजनिक गरिने गरी व्यवस्थापन मिलाइएको छ। प्रमुख निर्वाचन अधिकृत न्यायाधीश डिल्लीरत्न श्रेष्ठका अनुसार मतगणनाको नतिजा भर्चुअल माध्यमबाट सार्वजनिक गरिने गरी व्यवस्थापन गरिएको हो । मतदान स्थल भुटनदेवी माविमै मतगणना गरी सोको नतिजा भर्चुअल माध्यम (जुम) मार्फत सार्वजनिक गर्ने योजना बनाइएको छ । मतगणना साँझ ५ बजेदेखि सुरु गरिनेछ । आजै बेलुकासम्ममा नतिजा आइसक्ने जनाइएको छ ।

निर्वाचनमा नेकपा एमालेका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र अन्य दलका तर्फबाट खिमलाल देवकोटा प्रतिस्पर्धामा छन् । त्यस्तै नेपाल मजदुर किसान पार्टीका तर्फबाट कृष्णबहादुर तामाङले उम्मेदवारी दिएका छन् । 

मतदानका लागि कोभिड सङ्क्रमित मतदाताले भुटनदेवी माविको उत्तर गेटबाट मात्रै प्रवेश पाउनेछन् । अन्यले पश्चिम गेटबाट प्रवेश पाउनेछन् । मतदाताहरूलाई सामान्य स्वास्थ्य जाँचपछि १० मिटरको दूरीमा होल्डिङ सेन्टरमा बसाइने प्रमुख निर्वाचन अधिकृत श्रेष्ठले बताए । प्रदेश निर्वाचन आयोगको कार्यालयका अनुसार कुल मतदातामध्ये यसअघि नै १३ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको थियो । मतदानबाट कसैलाई पनि वञ्चित नगर्न प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख/उपप्रमुखहरुलाई पिसिआर रिपोर्ट अनिवार्य नगरिएको निर्वाचन अधिकृत श्रेष्ठले जानकारी दिएका थिए ।

प्रदेश निर्वाचन आयोगले मतदान स्थल र मतगणनाको संरचना तयार पारेको सहायक निर्वाचन अधिकृत गोविन्द पौडेलले बताए । विद्यालय परिसरमा क, ख र ग नामकरण गरेर तीनवटा मतदान केन्द्र स्थापना गरिएको छ । ‘क’ मा प्रदेशसभा सदस्य, ‘ख’ मा गाउँपालिका अध्यक्ष/उपाध्यक्ष तथा नगरका प्रमुख उपप्रमुख र ‘ग’ केन्द्रमा कोभिड–१९ सङ्क्रमित मतदाताले मत हाल्ने व्यवस्था मिलाइएको छ ।

सहायक निर्वाचन अधिकृत पौडेलका अनुसार प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुखका लागि फरक मतपत्र हुनेछ । फरक रङको मतपत्रमा चुनाव चिह्‌न भने एउटै राखिएको हुनेछ । मतदान केन्द्र र मतगणनामा खटिने गरी २४ कर्मचारी परिचालन गरिएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया