प्रधानमन्त्रीले विश्वासको मत नलिने, संसद अधिवेशन जेठ ९ गते आह्वान गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिने भएका छन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा उनले राजीनामा दिने विषयलाई अस्वीकार गरेका छन् ।
आज बसेको बैठकले संविधानको धारा ७६ (५) को प्रावधानअनुसार सरकार गठनको प्रक्रियामा अघि बढ्ने निर्णय पनि गरेको छ। अघिल्लो हप्ता मात्रै संविधानको धारा ७६ (३) अनुसार केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका थिए। अब विश्वासको मत नलिने र संविधानको धारा ७६ (५) अनुसार सरकार गठन गर्ने दिशामा अघि बढ्ने निर्णय भएको एक मन्त्रीले बताए।
संविधानको धारा ७६ (३) अनुसार नियुक्त भएको प्रधानमन्त्रीले विश्वासको मत पाउन नसकेमा धारा ७६ (५) मा प्रतिनिधि सभाको कुनै सदस्यले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा राष्ट्रपतिले त्यस्तो सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ।
त्यस्तै, आज बसेको बैठकले संसदको वर्षे अधिवेशन जेठ ९ गते आह्वान गर्ने निर्णय समेत गरेको छ । बैठकका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरिएको छ ।

प्रतिक्रिया