मंगलबार, मंसिर २५, २०८१

यी हुन् कोभिड-१९ विरुद्धको भ्याक्सिनका जन्मदाता !

नेपालखोज २०७८ असोज १८ गते ७:४४

काठमाडौं । पहिलोपटक सन् २०१९ मा पहिचान गरिएको कोरोना भाइरसका कारण अहिलेसम्म ४८ लाखजति मानिसको ज्यान गइसकेको छ । संक्रमणबाट मृत्यु हुने क्रम अझै रोकिएको छैन ।

साढे २३ करोड मानिसलाई आफ्नो सिकार बनाएको कोरोना भाइरसविरुद्ध अहिलेसम्मको एकमात्र भरोसा यसविरुद्धको खोप (भ्याक्सिन) मात्र हो । त्यसो भए यो खोपको खोज कसले गरेको हो ? धेरैलाई यो विषयमा जानकारी नहुन सक्छ ।

हंगेरीमा जन्मिएका Katalin Kariko र अमेरिकाका नागरिक Drew Weissman लाई कोरोनाविरुद्धको भ्याक्सिनको जन्मदाता मानिएको छ । यो वर्षको नोबेल पुरस्कारको सम्भावित विजेताको नाममा छलफल सुरु भएपछि यी दुई नाम चर्चामा आएका हुन् । उनीहरुलाई यसपटकको नोबेल पुरस्कार दिइने सम्भावना व्यक्त गरिँदै छ । Kariko र Weissman लाई एमआरएनए भ्याक्सिन वा म्यासेन्जर रिबोन्युक्लिक एसिड निर्माताका रुपमा चिनिन्छ । एमआरएनए प्रविधिमा आधारित रहेर मोडर्ना, फाइजर र सहयोगी जर्मन कम्पनी बायोएनटेकले तयार गरेको भ्याक्सिनले कोरोना संक्रमणविरुद्धको लड़ाइँमा ठूलो क्रान्ति ल्याएको छ । स्विडेनका प्रोफेसर अली मिराजामी भन्छन्, ‘भ्याक्सिनको यो प्रविधि खोज्ने वैज्ञानिकहरुले ढिलो चाँडो नोबेल पुरस्कार पाउँछन् भन्ने कुरामा म ढुक्क छु, प्रश्न के मात्र हो भने कहिले ? यसैपटक कि अलि पछि ?’

कोभिड-१९ को भ्याक्सिनले धनी मुलुकहरुलाई सामान्य स्थितिमा फर्कन धेरै मद्दत गरेको छ भने अरु देशमा ठूलो मात्रामा भ्याक्सिन लगाउन बाँकी नै छ । रोयटर्सले वैज्ञानिकहरुको एउटा वर्गको दाबी भन्दै यी दुई नाम अगाडि ल्याए पनि नोबल पुरस्कार समिति यस विषयमा मौन रहेको भन्दै समाचार सम्प्रेषण गरेको छ ।

साधारणत: भ्याक्सिन विकसित हुन एक दशक वा त्योभन्दा बढी समय लाग्न सक्छ । मोडर्नाको भ्याक्सिनलाई जिन सिक्वेंसिङदेखि लिएर पहिलो मानव इन्जेक्सनसम्म पुर्‍याउन केवल ६३ दिन लागेको थियो । एमआरएनएले शरीरको डीएनएबाट शरीरको सेल्ससम्म सन्देश पुर्‍याउँछ कि रोगसँग लड्न प्रोटिनको आवश्यकता छ । एमआरएनए म्यासेन्जरको खोज १९६१ मा भए पनि यो प्रविधिबाट उपचार गर्न वैज्ञानिकहरुलाई दशकौं लाग्यो ।

यो भ्याक्सिन विकसित गर्नेहरुलाई आशा छ कि अब यो प्रविधिको प्रयोग क्यान्सर तथा एचआईभीका बिरामीमा गर्न सकिनेछ । यो खोपको खोजबाट लाखौं मानिसको जीवन जोगिएको छ ।
-विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा

प्रतिक्रिया