यादवको शोकमा एमालेले तीन दिन पार्टी केन्द्रीय कार्यालयको झण्डा आधा झुकाउने

काठमाडौं । नेकपा एमालेले केन्द्रीय सदस्य तथा पूर्व सांसद योगनारायण यादवको निधनप्रति दुःख व्यक्त गर्दै पार्टी केन्द्रीय कार्यालयको झण्डा आधा झुकाउने जनाएको छ ।
पार्टीका महासचिव ईश्वर पोखरेलले बिहीबार विज्ञप्ति जारी गर्दै यादवको निधनले पार्टी स्तब्ध भएको एक निष्ठावान इमान्दार जुझारु नेता गुमाएको बताएका छन् । पार्टीले यादवको निधनमा शोक मनाउन बिहीबारदेखि तीन दिन पार्टी केन्द्रीय कार्यालयको झण्डा आधा झुकाउने र पार्टी केन्द्रीय कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय गरेको हो ।
कोभिड–१९ को सङ्क्रमणका कारण यादवको ५६ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको थियो । पार्टीका धनुषा जिल्ला सहइन्चार्जका रुपमा रहेका यादव नवौं महाधिवेशनमा वैकल्पिक पोलिटब्युरो सदस्यमा निर्वाचित भएका थिए ।
यादव पार्टीका भूमिगतकालदेखिका पुराना कार्यकर्ता, ०५० सालमा धनुषाको जिल्ला कमिटी सदस्य, जिल्ला कमिटीको सचिव, आठौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्य निर्वाचित भएका एमालेले जनाएको छ ।

प्रतिक्रिया