बुधबार, असार ११, २०८२

इजरायल तथा प्यालेस्टिनी विद्रोहीबीच युद्धविराम, अमेरिकाद्वारा स्वागत

नेपालखोज २०७८ जेठ ७ गते १२:१२

काठमाडाैं । झन्डै अढाइ सय मानिसको ज्यान जाने गरी भएको ११ दिनको लडाइँ अन्त्य गर्दै इजरायल तथा गाजास्थित प्यालेस्टीनी विद्रोहीबीच भएको युद्धविराम लागु भएको बीबीसीले जनाएकाे छ । युद्धविराम स्थानीय समयानुसार शुक्रवार राति २ बजेबाट शुरु भएको छ ।

प्यालेस्टिनी विद्रोही तथा इजरायलको सुरक्षा क्याबिनेटले इजिप्टको मध्यस्थतामा गरिएको युद्धविरामप्रति स्वीकृति जनाएका छन् । गाजामा विजयोत्सव मनाउन गोली चलाइएका आवाज आएका छन् । तर इजरेलतर्फ रकेट प्रहार रोकिएको छ।

त्यस्तै अमेरिकी राष्ट्रपति जो बाइडनले भने याे युद्धविरामको स्वागत गरेका छन् । यसले मध्येपूर्वमा प्रगतिका निम्ति अवसर दिएको उनले बताएका छन् ।

युद्धविराम लागु हुनुअगावै बोल्दै उनलेइजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग कुरा गरेको र लडाइँ अन्त्य गराएकोमा उनलाई बधाइ दिएको बताएका थिए ।

साथै बाइडनले युद्धविरामको मध्यस्थता गराएकोमा इजिप्टका राष्ट्रपति सीसीलाई पनि धन्यवाद दिएका छन् । अमेरिका गाजामा मानवीय कार्यहरूको समर्थन गर्न कटिबद्ध रहेको उनले बताए ।

ब्रिटेनका विदेशमन्त्री डोमिनिक राबले सबै पक्षलाई युद्धविराम स्थायी बनाउन आग्रह गरेका छन् ताकि सो क्षेत्रमा हिंसाको चक्र तोडियोस् । तर इजरायलमा कैयन् दक्षिणपन्थी राजनीतिज्ञहरूले युद्धविरामको निन्दा गरेका छन् ।

प्रतिक्रिया